सार्वजनिक सरोकार कानून ब्यवशायी समुहद्धारा नयाँ बर्ष बि.स.२०८२ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिकीकरण
सार्वजनिक सरोकारका सवालमा भएका अदालती आदेशको पालना हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
सार्वजनिक सरोकार कानून ब्यवशायी समुह नेपालगंजको आयोजनामा भएको नयाँ बर्ष बि.स.२०८२ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिकीकरण कार्यक्रममा बोल्दै न्यायसम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरुले सार्वजनिक सरोकारका मुद्धामा भएका आदेश आमनागरिकको सार्वजनिक हित र न्यायका बिषय भएकाले यसको पालना हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारुले आम नागरिकको सार्वजनिक सरोकारका बिषयमा नेपालगंजका कानून ब्यवशायीहरुले सराहनिय कार्य गरेको भन्दै अदालती आदेश कार्यान्वयनमा लाग्न सुझाव दिए ।
सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारु, बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, नेपाल बार काउन्सिलका पार्षद इश्वरी प्रसाद ज्ञवाली, नेपालगंज उच्च बारका अध्यक्ष चित्र बहादुर शाही, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज कार्यालय प्रमुख द्धारिका अधिकारी लगायतका वक्ताले नेपालगंजका कानून ब्यवशायीले सार्वजनिक सरोकारका सवालमा महत्वपुर्ण कार्य गरेको भन्दै अदालती आदेश कार्यान्वयनमा जोड दिएका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अदालतबाट भएका आदेशको के कति कार्यान्वयन भए त्यसको लेखाजोखा गरि कार्यान्वयनका लागी संयुक्त पहल जरुरी रहेको बताएका थिए । कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नै तवरबाट बिज्ञापन रहित क्यालेन्डर प्रकाशित गरिएकोमा कार्यक्रमका सहभागीले सार्वजनिक सरोकार कानून ब्यवशायी समुहको प्रसंशा गरेका थिए ।
सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका सचिव अधिवक्ता बसन्त गौतमले संचालन गरेको कार्यक्रममा समुहका सहसंयोजक वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले सार्वजनिक सरोकार क्षेत्रमा समुहले गरेका कार्यहरुका बारेमा प्रष्टाएका थिए भने समुहका सदस्य बिकाश आचार्यले स्वागत मन्तब्य राखेका थिए । मानव अधिकार, सामाजिक न्याय र सार्वजनिक सरोकारका बिभिन्न सवालमा आम नागरिकको न्याय र हितका लागी वकालत र पैरवी गर्दै आईरहेको सार्वजनिक सरोकार कानून ब्यवशायी समुहले यस अघि सार्वजनिक सरोकारका मुद्धामा उच्च अदालतबाट भएका महत्वपुर्ण फैसलाहरुको संग्रह २०८० प्रकाशन गरीसकेको समुहका सचिव अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।
समुहमा वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ संयोजक छन् भने सहसंयोजकमा वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, सचिवमा अधिवक्ता बसन्त गौतम, कोषाध्यक्ष अधिवक्ता बल बहादुर चन्द, सदस्यहरुमा अधिवक्ताहरु बिकाश आचार्य, बिश्वजित तिवारी, सुनिता शर्मा, केवल सिंह थारु र आमन्त्रित सदस्यमा इन्सेकका भोला महत रहेका छन् ।