अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय नेपालगन्जका कर्मचारी सहित चार जनालाई पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने समेतको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रुपमा खटिई गएको टोलीले बिहीबार कारवाही गर्दै विभिन्न ठाउँबाट कर्मचारी सहितका व्यक्तिहरुले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई उनीहरुले प्रयोग गर्ने गरेका बिद्युतीय उपकरणसहित बाँके जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको हो ।