नेपाली काँग्रेस बाँकेमा गुटबन्दीका आरोपहरू सतहमै आउन थालेका छन् । प्रारम्भदेखि नै असन्तुष्टिहरू सम्हालिएर बसेपछि जिल्ला अधिवेशनको मिति नजिकिंदै जाँदा गुटबन्दीका आरोप–प्रत्यारोप सतहमा देखा परेका हुन् ।
काँग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसीले जिल्ला नेतृत्व प्रति नै प्रश्न उठाएर आफ्नो असन्तुष्टि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरे लगत्तै जिल्ला पार्टी सचिवमाथि नै दुव्र्यवहार भएको घटना बाहिरिएको छ । जिल्ला सम्मेलनको औपचारिक सत्रमा नेतृत्वले पूर्वाग्रही सोंच र कुण्ठा देखाएको भन्दै क्षेत्रीय सभापति केसीले चेतावनी पूर्ण असन्तुष्टि सार्वजनिक गरेका थिए ।
जिल्ला सम्मेलन तयारीका क्रममा भएको पदाधिकारी बैठकमा चैत्र २९ गते शुक्रबार पार्टी कार्यालयमा अनुशासन समितिका संयोजक आशिष काफ्लेले जिल्ला सचिव सुधांसु कोइरालामाथि दुव्र्यवहार गरेको आरोप पेचिलो बन्दै गएको हो । ‘पार्टी सभापतिकै सामुन्ने दुव्र्यवहार भएकाले सुनुवाई हुनेमा विश्वस्त थिएँ’, सचिव कोइरालाले घटना विवरणबारे भने, ‘यतिका दिनसम्म राजिनामा माग्ने हो बर्खास्त गर्ने कुनै एक्सन नभएकाले यो विषय गम्भीर बन्दै गएको हो ।’
अनुशासन समितिका संयोजकले नै अनुशासन उल्लंघन गरेकाले कारवाहीको माग एउटा पक्षको छ । पार्टी सभापति नारायण प्रसाद गौडेलले भने सामान्य विवादलाई दुव्र्यवहारकै रूपमा चित्रण गर्न नमिल्ने बताएका छन् । ‘सामान्य विवादको विषय हो, आपसमा बसेर टुंगिन्छ’, सभापति गौडेलले दैनिक नेपालगन्जसँग भने, ‘यसलाई धेरै ठूलो घटना वा दुव्र्यवहारका रूपमा चित्रण गरिनु अनावश्यक भयो ।’
सचिव कोइरालाले भने अनुशासन कायम गर्ने जिम्मेवारीमा बसेकाले पार्टी नेतृत्व सामुन्ने अराजकता प्रदर्शन गर्नेलाई किन्चित पनि सामान्य मान्न नसकिने बताउँछन् । उक्त घटनालाई लिएर पार्टी सभापतिको धारणा माग गर्ने बताइएको छ ।