बाँकेको खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित ८५ करोड ७२ लाख ३१ हजार ५ सय ७१ रूपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको मंगलबार आयोजित १७ औं गाउँसभामा उपाध्यक्ष मञ्जु मल्लले प्रस्तावित आय÷व्यय विवरण प्रस्तुत गरिन् । बजेट माथि थप छलफल र पारित गर्नका लागि आगामी असार २८ गते पुनः गाउँसभाको बैठक बस्नेछ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर बहादुर विकको अध्यक्षतामा भएको गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष मल्लले आगामी आ.व.२०८२/८३ मा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय देहाय बमोजिमको रकमको श्रोत अनुमान तथा सीमा निर्धारण समितिले बजेटको परिधिभित्र रही योजना तथा कार्यक्रम तर्जुमा गर्ने जिम्मेवारी तोकिएको बताएकी थिइन् ।
‘संघीय सरकारबाट सशर्त अनुदान रु.४१ करोड, वित्तिय समानिकरण रु.१४ करोड ८६ लाख, संघिय राजश्व बांडफांड बाट रु.१२ करोड ७३ लाख २५ हजार ४ सय १, विशेष अनुदानको रूपमा रु. ३ करोड र समपुरक अनुदानका रूपमा रु. १ करोड २९ लाख गरि जम्मा रु ७२ करोड ८८ लाख २५ हजार ४ सय १ संघ तर्फ रहेको छ’, उपाध्यक्ष मल्लले बजेटको स्रोत उल्लेख गर्दै भनिन्, ‘प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रु१ करोड ३५ लाख वित्तिय समानीकरण अनुदान रु.१ करोड २ लाख ८१ हजार, प्रदेश राजश्व बांडफांड रु.३ करोड १६ लाख १२ हजार, प्रदेश समपुरक अनुदान रु. ७५ करोड प्रदेश विशेष अनुदान रु.१७ लाख गरि जम्मा रु.६ करोड ४५ लाख ९३ र आन्तरिक राजश्व तर्फ आन्तरिक श्रोत तर्फ रु.२ करोड ५० लाख र अल्या तर्फ रु ३ करोड ८८ लाख १३ हजार १ सय ७० गरि जम्मा रु.८५ करोड ७२ लाख ३१ हजार ५ सय ७१ को स्रोत परिचालन हुनेछ ।’
पालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले सञ्चालन गरेको सभामा बजेट अघि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए (बिस्तृत पेज नं. २ र ३ मा) । अध्यक्ष विकले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पारित गरेको थियो ।
प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी विकास, पर्यटन, खेलकुद, रोजगार, उद्योग, ब्यवसाय लगायतलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा खजुरा क्षेत्रका बिद्यालयलाई टिनको छानामुक्त बनाउने, हरेक बिद्यालयमा सुबिधा सम्पन्न शौचालय र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, खजुराको समृद्धिको आधार कृषिलाई प्रोत्साहित गरिएको छ । कबड्डी खेललाई मान्यता दिदै गाउँपालिकाको खेलकुदका रूपमा घोषणा गरिएको छ । अन्य खेल गतिबिधिलाई तीब्र रूपमा सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तो छ, खजुराको बजेट