डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ५६ करोड १६ लाख ८ हजारको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अनुसार, १८औं गाउँसभामा मंगलबार आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२ र नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको हो ।
गाउँसभा अध्यक्ष एवं गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रस्तुत गरेका नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, विपद् व्यवस्थापन, लघु उद्यम, सूचना–सञ्चार, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन र संस्थागत विकास जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले चालुतर्फ संघीय सशर्त अनुदानबाट रु. २४ करोड २५ लाख, संघीय समपूरक अनुदानबाट रु. १ करोड, प्रदेश विशेष अनुदानबाट रु. १८ लाख, प्रदेश समपूरक अनुदानबाट रु. ७५ लाख, प्रदेश सशर्त अनुदानबाट रु. १ करोड २० लाख र आन्तरिक आयबाट रु. ५ करोड ८७ लाख प्राप्त गर्ने अनुमान गरिएको छ ।
सार्वजनिक बजेट अनुसार तरकारी बिउ प्रशोधन, कोल्ड स्टोर सञ्चालन, कृषिमा यान्त्रीकरण र बजार व्यवस्थापनलाई जोड दिइएको छ । पशुमा कृत्रिम गर्भाधान, महामारी नियन्त्रण, बोका वितरणलगायत कार्यक्रम निरन्तरता पाउने छन् ।
स्वास्थ्य क्षेत्रमा ल्याब विस्तार, निशुल्क उपचार, स्वास्थ्य बीमा, ग्रामीण अल्ट्रासाउन्ड सेवा, आँखा सेवा केन्द्रको स्तरोन्नति र ५ शैयाको अस्पताल सञ्चालन गरी २४ घण्टा आकस्मिक सेवा दिने तयारी गरिएको छ । शिक्षामा कन्या मुद्धती योजना, छात्रा साइकल वितरण, संस्कार पाठ्यक्रम विकास, लोकसेवा तयारी कक्षा र विद्यालय सुधार योजनालाई निरन्तरता दिइने भएको छ । सञ्चार क्षेत्रमा स्थानीय संचार माध्यामलाई प्राथमिकता दिई आमसञ्चार नीति निर्माण गरिने छ ।
सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरू, वडा सदस्य, कार्यपालिका सदस्य तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको उपस्थिति थियो । गाउँसभा सचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम चौधरीले सभा सञ्चालन गरेका थिए ।