बढ्दै लागुऔषधको समस्या
बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिर नजिकबाट भारतीय नागरिक २४ वर्षीय मोहम्मद आरिफलाई २० ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, भारतको बहराइच जिल्ला, केवलपुर निवासी आरिफ नेपालगन्जमा लागूपदार्थ बिक्री गर्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले शंका लागेपछि चेकजाँच गर्दा उक्त लागूपदार्थ फेला परेको जानकारी दिंदै अनुसन्धानका क्रममा आरिफ कसलाई आपूर्ति गर्न लागेको वा संलग्न गिरोहबारे थप खोजी भइरहेको जनाएको छ ।
नेपालगन्ज सीमावर्ती क्षेत्र भएकाले भारतबाट लागूपदार्थ ल्याउने घटना दिनानुदिन बढ्दो छ । स्थानीय बजारमा सस्तोमा पाइने ब्राउनसुगरलाई नेपालभित्र ल्याई महँगोमा बेच्ने गिरोह सक्रिय छन् । यसले गर्दा युवा पुस्तामा लत लाग्ने, अपराधमा संलग्न हुने, स्वास्थ्य समस्या बढ्ने जस्ता गम्भीर सामाजिक असर देखिँदै आएको छ ।
बाँके र बर्दिया जिल्लामा यो समस्या निकै जटिल बन्दै गएको छ । शिक्षा, रोजगारी र परिवारमा असर पार्दै आएको छ । केही वर्षयता लागूपदार्थ दुव्र्यसनका कारण आत्महत्या, हिंसा र स्वास्थ्य समस्या भएका तथ्यांकहरू राज्यकै ध्यानाकर्षण गराउँछन् ।
प्रहरीले सीमामा निगरानी बढाए तापनि तस्करहरू नयाँ बाटो, ‘कुरियर’, वा स्थानीय सहयोगी प्रयोग गरी औषधी ल्याउने गरेका छन् । सुरक्षामा प्रविधिको प्रयोग, स्थानीय गुप्तचर प्रणाली, र सीमामा तालमेल अभावका कारण कडा नियन्त्रण गर्न कठिन भइरहेको छ ।
सम्बद्ध अभियन्ताहरुका अनुसार, लागूपदार्थ विरुद्ध कानूनी कठोरता मात्र होइन, सामाजिक चेतना, पुनःस्थापना केन्द्रको प्रभावकारिता, शिक्षा र स्थानीय समुदायको संलग्नता आवश्यक छ । युवा लक्षित कार्यक्रमहरू, रोजगार सिर्जना, र अभिभावकस्तरबाटै निगरानी अब अत्यावश्यक बन्दै गएको छ ।