सूचना प्रविधिको द्रुत विकाससँगै बढ्दै गएको साइबर अपराध न्यूनीकरणका लागि नेपालगन्जमा बृहत् सचेतना कार्यक्रम आयोजना भएको छ।
डटवर्क्स टेक्नोलोजीज्,ले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आइतबार र सोमबार आयोजना गरिएको दुई दिने कार्यक्रममा विद्यार्थी, शिक्षक र जनप्रतिनिधि लगायतका सरोकारवालाहरूले साइबर सुरक्षाबारे महत्वपूर्ण जानकारी हासिल गरेका हुन् ।
पहिलो दिन शिक्षक-विद्यार्थी र दोस्रो दिन नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, कर्मचारीलाई अभिमुखिकरण गरिएको हो ।
अभियानमा सञ्चार साझेदार, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेको अध्यक्षतामा भएको कार्यक्रममा दोस्रो दिन, सोमबार नेपालगन्ज वडा नं. १८ का वडाध्यक्ष दीपककुमार बर्माले आफ्ना विषयगत धारणा राखेका थिए।
वडाध्यक्ष बर्माले विगत दुई वर्षदेखि आफ्नो वडामा साइबर अपराधविरुद्ध अभियानकै रुपमा सचेतनाका लागि काम गरिरहेको जानकारी दिँदै नगरभरि नै यसको विस्तार गरिएको बताए ।
वडाध्यक्ष, कार्यपालिका सदस्य र उप महानगरपालिकाका कर्मचारी सहभागी
अन्तर्क्रियात्मक सत्रमा विषय विज्ञ ई. अरशद कमल सिद्दीकी र बाँके प्रहरी महिला सेल प्रमुख, प्रहरी निरीक्षक शिवा थापाले साइबर अपराधका विभिन्न प्रकार र त्यसबाट जोगिने उपायहरूबारे विस्तृत प्रस्तुतीकरण गरे । सहभागीहरूले स्रोतव्यक्तिहरूसँग विभिन्न जिज्ञासा राख्दै सूचना प्रविधिमा आएको विकाससँगैको जोखिम न्यूनीकरणमा अपनाउनुपर्ने सजगताबारे जानकारी लिएका थिए।
कार्यक्रममा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण र भूमिकामा जोड दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरूलाई गरिएको साइबर सचेतना अभिमुखीकरण वडाध्यक्ष बर्माले साइबर अपराधको अवस्था, पीडितहरूको समस्या र यसको न्यूनीकरणमा जनप्रतिनिधिको भूमिकाबारे प्रकाश पारेका थिए। जनप्रतिनिधिहरूलाई साइबर सुरक्षाबारे जानकारी गराउनाले नीति निर्माण र स्थानीयस्तरमा सचेतना अभियान चलाउनमा थप सहयोग पुग्ने विश्वास गरिएको
डटवर्क्सका प्रवन्ध निर्देशक इ.अरशद कमल सिद्दीकीले बताए । उनका अनुसार, यो दुई दिने कार्यक्रमले नेपालगन्जमा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
समग्रमा, यो अभियानले साइबर अपराधको बढ्दो चुनौती सामना गर्न सामूहिक प्रयासको अपरिहार्यतामा जोड दिएको डटवर्क्सका प्रवन्ध निर्देशक इ. सिद्दीकीको भनाइ छ ।
आयोजक डटवर्क्सका प्रवन्ध निर्देशक इ. सिद्दीकीले भने, विद्यालयदेखि स्थानीय तहसम्म सबैको सक्रिय सहभागिताले मात्रै साइबर सुरक्षित समाज निर्माण गर्न सकिने सन्देश यो कार्यक्रमले दिएको छ।
कार्यक्रमको पहिलो दिन आइतबार अभियान उद्घाटन गर्दै, विभिन्न सामुदायिक विद्यालयका सयभन्दा बढी विद्यार्थी र शिक्षक प्रतिनिधिहरूका लागि गरिएको ‘साइबर अपराध सचेतना कार्यक्रम’मा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले साइबर अपराधको बढ्दो घटना न्यूनीकरणमा विद्यालयस्तरबाटै सचेतना आवश्यक रहेको बताएका थिए ।
पत्रकार सजल गैरेले संचालन गरेको जनप्रतिनिधि- कर्मचारी साइबर सचेतनामा वडाध्यक्ष मनोजकुमार श्रेष्ठ, कौशलकुमार धोबी, गोविन्द रेग्मी, राजकुमार साहु, समीर प्रताप सिह, नन्दकिशोर कश्यप लगायत जनप्रतिनिधि सक्रिय सहभागी थिए ।
अघिल्लो दिनको कार्यक्रम पत्रकार सन्ध्या गैरेले सहजीकरण गरेकी थिइन् ।
डटवर्क्सले पछिल्लो दुई वर्ष यता नेपालगन्ज उपमहानगरपालिका -१८ मा साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम गर्दै आएको छ ।