नेपालगञ्ज, वडा नं. १८ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा चालू आर्थिक वर्ष २०८२/८३ मा भौतिक पूर्वाधार निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन् ।
वडाध्यक्ष दीपककुमार बर्माका अनुसार, संघ, प्रदेश तथा स्थानीय तहबाट समन्वयात्मक रुपमा प्राप्त १५ करोड ९० लाख रुपैयाँको बजेट मार्फत विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा छन् ।
‘खानेपानी टंकी–भगवती टोलमा रु १० लाख लागतमा पीसीसी सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ शुक्रवार स्थलगत अनुगमनपछि वडाध्यक्ष्ँ बर्माले दैनिक नेपालगन्जसँग भने ‘शिवशक्ति टोलमा रु ३० लाखको लागतमा आरसीसी नाला सहित सडक स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।’
प्रहरी तालिम केन्द्र पछाडि पीसीसी सडक निर्माण नाला सहित सम्पन्न भइसकेको वडाले जनाएको छ ।
यस्तै, सडक विभाग पछाडि पशुपतिनगरमा रु ७० लाखको बजेटमा २३६ मिटर लम्बाई र ७ मिटर चौडाईको आरसीसी नाला सहित कालोपत्रे सडक निर्माण कार्य चलिरहेको छ । यी योजनाहरू स्थलगत निरीक्षणपछि वडाध्यक्ष बर्माले वडाको निरन्तर विकास अभियानको जानकारी दिएका छन् ।
वडाध्यक्ष बर्माका अनुसार, वडाले संघीय सरकारबाट श्री तिरुपति बालाजी मन्दिरको सौन्दर्यकरणमा ३ करोड, स्प्रिङडेल स्कुल मार्गमा ३ करोड, र सुर्खेत रोड हुँदै भुजगाउँसम्मको सडक विस्तारमा ३ करोडको बजेट प्राप्त गरेको छ ।
संघीय सशर्त अनुदानबाट १ करोड २० लाख, प्रदेश सरकारबाट बानिया गाउँ मार्ग स्तरोन्नतिमा ६५ लाख, र दुर्गा भगवती तथा शिवशक्ति टोलका सडकस्तर सुधारमा ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय सरकारले पनि ४५ लाख बराबरको छ वटा साना योजनाहरूमा सहयोग गरेको छ ।
वडाध्यक्ष बर्माले भने, ‘स्रोतसाधन सीमित भए पनि जनताको अपेक्षा पुरा गर्न वडाले विकासको बहुआयामिक योजना अघि सारेको छ, काम पनि भइरहेको छ ।’ ‘समयमै कार्यान्वयन गर्न उपभोक्ता समिति र स्थानीय संस्थाहरूसँग सहकार्य गर्दै अघि बढिरहेका छौं,’ उनले भने ।

