होटल व्यवसायी संघ बाँके, नेपालगन्जमा विहीवार नयाँ नेतृत्व पदबहाली गरिएको छ ।
संघको ११ औँ जिल्ला अधिवेशनमार्फत सर्वसम्मत नव निर्वाचित अध्यक्ष भिमलाल कंडेलले विहीवार नेपालगन्जस्थित संघको कार्यालय भवनमा पदबहाली गरेका हुन् । उनलाई अध्यक्ष रंगबहादुर खड्का गर्दै कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्ष कंडेलसँगै वरिष्ठ उपाध्यक्ष घनश्याम थापा, उपाध्यक्ष विष्णुप्रसाद पोख्रेल, महिला उपाध्यक्ष विष्णु शाही, महासचिव प्रेमबहादुर शाह, सचिव थुमबहादुर क्षेत्री, कोषाध्यक्ष एकराज पाण्डेय, सह–कोषाध्यक्ष घनश्याम शर्मा, सदस्यहरू अतुलकुमार गुप्ता, राजकुमार बि.क., मेघबहादुर गुरुङ, कुलबहादुर कार्की, महिला सदस्य गीता सुवेदी र कल्पना भण्डारी रहेका छन् । नवनिर्वाचित कार्यसमितिको विहीवारनै बसेको बैठकले विनोद कुमार श्रेष्ठलाई वरिष्ठ मनोनित गर्ने निर्णय गरेको अध्यक्ष कंडेलले बताए । निर्वाचन अधिकृत एवम् अधिवक्ता बसन्त गौतमले नव निर्वाचितलाई प्रमाणपत्र वितरण गरे ।
संघका संस्थापक अध्यक्ष मदन विसीको प्रमुख आतिथ्यमा भएको पदबहाली समारोहमा अध्यक्ष कंडेलले पछिल्लो राजनीतिक अस्थिरताले होटल व्यवसायलाई चुनौती दिए पनि व्यवसायीहरूले साझा भावना र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले संघलाई सबैको सुझावलाई समेट्दै व्यवस्थित, प्रतिस्पर्धी र पर्यटकमैत्री बनाउन प्रतिबद्धता व्यक्त गरे ।
नवीन नेतृत्वबाट बाँकेको होटल व्यवसायलाई नयाँ दिशातर्फ अघि बढाउने अपेक्षा व्यवसायी समुदायले व्यक्त गरेका छन् । त्यसक्रममा आज शुक्रवार संविधान दिवस पारेर व्यवसायिक चुनौतीबारे सरोकारवालाहरुसँग परिचर्चा गर्न लागिएको कोषाध्यक्ष एकराज पाण्डेयले बताए ।





























