गत भाद्र २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोग बाँके आइपुगेको छ । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्मा नेतृत्वको टोलीले जिल्लामा क्षतिग्रस्त कार्यालयको अनुगमन गर्नुका साथै शुक्रबार सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ, संगठन, राजनीतिक दल सम्बद्धहरू सँग अन्तरक्रियात्मक छलफल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूहरूले आयोगको निष्पक्ष काम गर्न सक्ने प्रति नै आशंका गरेका छन् । विगतमा पनि भएका घटनाहरू हुँदा आयोग गठन हुने, प्रतिवेदन सार्वजनिक नहुने, आयोगको सिफारिस कार्यान्वयन नहुने अवस्थाले गर्दा पनि आयोग सुझाव दिन विभिन्न जिल्लामा पुग्दा आशंका व्यक्त गरेको पाइन्छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका सचिव सुधांसु कोइराला, एमाले नेता घननाथ खनालले कुनै मुठभेड नचाहेको बताएका थिए । काँग्रेस नेता कोइरालाले चोकमा ढालिएका शालिक उठाउन पार्टीभित्र माग रहेपनि त्यसले अर्को मुठभेट निम्त्याउने सक्ने भन्दै रोकेको बताए । राज्यले चोकका शालिक उठाउनु पर्ने धारणा उनको थियो ।
जेनजीको प्रदर्शनमा नेपालगन्जका दुई युवाको ज्यान गएको प्रति दुःख व्यक्त गर्दै सचिव कोइरालाले प्रहरी प्रति जनताको विश्वास जाग्ने वातावरण बनाउन आवश्यक रहेको बताएका थिए ।
काँग्रेस बाँकेका नेता कोइरालाले आम जनतालाई प्रहरी, प्रशासन अविश्वास रहने वातावरण रहेको बताए । उनले जनताको मनमा चोट पुगेको भन्दै जनता सुरक्षित रहेको महसुस गराउन आवश्यक रहेको धारणा राखेका थिए ।
नेता कोइरालाले आयोगको काम औपचारिकतामा सीमित नहोस् भन्दै एक्सन जाओस् भन्ने कामना गरेका थिए ।
एमाले नेता घननाथ खनालले भाद्र २४ मा भएको आन्दोलनले बाँके तहसनहस भएको बताए । ‘त्यसको असर अहिलेसम्म परेको छ, क्षति पुगेका सरकारी कार्यालयले अहिले पनि निर्धक्क र सबै सेवा सूचारु गर्न सकेका छैनन्’, उनले भने । एमाले नेता खनालले भाद्र २३ को आन्दोलनको जिम्मा जेनजीले लिएपनि २४ गतेको जिम्मे नलिएको भन्दै भाद्र २४ भएको आन्दोलनको जिम्मेवारी एकिन गर्न आवश्यक रहेको बताए । ‘जेनजीले भाद्र २४ को आन्दोलन हाम्रो होइन भनेको छ, त्यसले सवाल खडा गरेको छ’, उनले भने ।
एमाले नेता खनालले सरकारी कार्यालयमा लाखौं खर्च गरेर तयार भएका तथ्यांक रहेका कागजात जलेको भन्दै आयोगले सत्यतथ्य बुझेर दोषीलाई कारवाही गर्न भन्ने आशा रहेको बताएका थिए ।
‘जनसरोकारका सम्पूर्ण कार्यालय प्रति यो सरकार मौन छ, प्रहरी, प्रशासनलाई काम गर्ने वातावरण छैन’, नेता खनालले भने । अपराधी फरार, हतियार लुट्ने फरार हुँदा भाद्र २४ को आन्दोलन कसले गरेको हो भन्ने एकिन हुन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोलेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले कार्यालयमा पुगेको क्षति र हाल सेवा प्रवाहको स्थितिमा बोलेका थिए ।
जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधरीले शालिक तोडफोड गर्नेलाई कारवाहीका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई प्रमाण दिंदा समेत माथिको आदेश भन्दै कारवाही अगाडि नबढाएको जानकारी दिए । ‘अहिले कुनै पार्टीको सरकार छैन, कसलाई भन्ने ?’, उनले भने, ‘भ्रष्टाचार र सुशासनका नाममा आन्दोलन गरिएपनि अहिले पनि भ्रष्टाचार भैरहेको छ, बेथिति उस्तै छ, खोई रोकेको ?’
कार्यक्रमको अध्यक्षता गरेका बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीले भाद्र २३ र २४ को आन्दोलनमा सिर्जित समस्या राष्ट्रिय भएको बताए । उनले तत्कालीन समयमा सुरक्षा बैठकले जोखिम औंल्याएपनि त्यसको नियन्त्रण गर्न नसकेको बताएका थिए ।
‘निष्पक्ष रुपमा काम गर्छौं’
गत भाद्र २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगका सदस्य समेत रहेका प्रवक्ता विज्ञानराज शर्माले आयोगले निष्पक्ष र पूर्वाग्रही ढंगले काम गर्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।
शुक्रबार नेपालगन्जमा सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, संघ, संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरू बीच आयोगका सदस्य शर्माले अप्ठ्यारोका बेला सहयोग गर्न आयोगमा बसेको बताएका थिए । उनले आयोगबाट गलत कुरा प्रतिवेदनमा नजाने उल्लेख गर्दै बिस्तृत छानबिनका लागि समितिको प्रस्ताव समेत प्रतिवेदनमा समेटिने बताएका थिए ।
विगतमा गृह मन्त्रालयको विज्ञप्तिका कारण अझै पनि प्रजिअहरू अलमलमा रहेको पाएको पाएको भन्दै आयोगका सदस्य शर्माले फैजदारी कसुरमा अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारे । ‘हामीले फ्याक्ट फाइन्डिङ्ग गर्ने हो, केही संकेत गर्ने हो र भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिने हो’, उनले भने ।
यसअघि सरकारमा रहेकाहरूको पासपोर्ट रोक्का गर्न निर्णय बयान आवश्यक पर्ने भएर गरिएको र स्वीकृति लिएर जान समस्या नरहेको सदस्य शर्माले बताएका थिए ।
बाँकेमा यस्तो क्षति
भाद्र २४ गते भएको जेनजी आन्दोलनका कारण बाँकेका विभिन्न सरकारी कार्यालयमा पुगेको क्षतिका कारण अहिले सर्वसाधारण नागरिकले स्वस्फूर्त सेवा पाउन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बाँकेमा निजी, सरकारी तथा राजनीतिक दलका कार्यालयमा पुगेको क्षति विवरण संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले बाँकेमा कोहलपुर नगर प्रमुखको घरमा पूर्ण क्षति भएको उपप्रमुख संगीता सुवेदी र वडा नं. ११ का वडाध्यक्ष कल्पना शर्माको घरमा आंशिक क्षति भएको जानकारी दिए ।
जेनजीको प्रदर्शनका क्रमम ाबाँकेमा २ सय ४५ वटा दुई पाङ्ग्रे, ४१ वटा चार पाङ्ग्रे, २१ वटा तीन पाङ्ग्रे र २ वटा ६ चक्के ट्रक पूर्ण रूपमा ध्वस्त भएको प्रहरीको तथ्यांक रहेको छ ।
बाँकेमा जेनजीको प्रदर्शमा २९ वटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड प्रहरी बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जिसीले जानकारी दिए । ‘२१ वटा सरकारी कार्यालयमा पूर्ण क्षति, ६ वटा कार्यालयमा आंशिक क्षति र दुई वटा कार्यालयमा सामान्य क्षति भएको छ’, उनले भने । प्रहरी तर्फ इप्रका जयसपुरमा आंशिक क्षति र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा पूर्ण क्षति पुगेको छ । प्रहरीका चार वटा सवारीसाधन पनि पूर्ण रूपमा क्षति पुगेको छ ।
बाँकेमा जेनजीको प्रदर्शनका क्रममा राजनीतिक दलका कार्यालय सात वटा कार्यालयमा आंशिक क्षति पुगेको बाँके प्रहरीको तथ्यांक छ ।
‘ढिलो चाँडो कारवाही हुनुपर्छ’
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले गत भाद्र २३ र २४ गते भएका घटनाका दोषीलाई ढिलोचाँडो कारवाही हुनुपर्ने धारणा राखेका छन् । उनले हाल प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन प्रमाण संकलन गरिरहेको उल्लेख गर्दै भने, ‘दण्डहिनता अन्त्यका लागि दोषीलाई कारवाही गर्न आवश्यक छ, भविष्यमा कारवाहीका लागि पनि प्रमाण चाहिन्छ, त्यसैले तपाईहरूसँग प्रमाण र पहिचान भए उपलब्ध गराइदिनुस् ।’ उनले सामाजिक सञ्जालमार्फत धेरै प्रमाण प्रहरीले सुरक्षित गरिसकेको बताए ।
बाँके प्रहरी प्रमुख जिसीले प्रहरी रहँदासम्म जनताले सुरक्षाको अनुभूति गर्नुपर्ने सिद्धान्त रहेको बताएका थिए । ‘पहिले प्रहरी मर्ने हो, प्रहरीसँग भएका गोली सकिने हो’, नागरिक सुरक्षामा प्रहरी सिद्धान्त उल्लेख गर्दै उनले भने । उनले नागरिक सुरक्षाको अनुभूति गराउने प्रतिबद्धता समेत जनाए ।






























