नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाको ९औं महाधिवेशन अन्तर्गत आज मंगलबार नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने भएको छ ।
गत साता शनिबार नवौं अधिवेशन तथा अठारौं बार्षिक साधारणसभाले सर्वसम्मत नेतृत्व चयन प्रक्रिया अगाडि बढाउन नसकेपछि रोकिएको निर्वाचन प्रक्रिया आजबाट गरिने भएको हो ।
महासंघका जिल्ला अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा केन्द्रीय उपाध्यक्ष बुद्धि प्रसाद अधिकारीको उपस्थितिमा आइतबार बसेको बैठकले अधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको सचिव मोहन चन्दले जानकारी दिए । उनका अनुसार, निर्वाचन प्रक्रिया औपचारिक अगाडि बढाइपछि मात्रै अग्रजहरूले सर्वसम्मत सहमतिका पहलकदमीलाई निष्कर्षमा पुर्याउन सजिलो हुने बैठकले टुंगो लगाएपछि मंगलबारलाई मिति तय गरिएको हो ।
सदस्यता छानबिनका क्रममा दुई वटा अयोग्य ठहर भएका छन् । ‘२ सय २२ जनाको मतदाता नामावली अन्तिम भएको छ’, सचिव चन्दले दैनिक नेपालगन्जसँग भने ।
आगामी कार्यकालका लागि दुर्गा सिंह बस्नेत र शिव कुमार गुप्ताले नेतृत्व दाबेदारी गरेका छन् । उनीहरू बीचबाट सहमतिको नेतृत्व खोज्न पहलकदमी भैरहेको व्यवसायीहरू बताउँछन् ।






























