जीवन शर्मा
कहिलेकाहीँ जीवनले हामीलाई कुनै चेतावनी दिन्छ- बिस्तारै, शान्त रूपमा। तर हामी त्यो संकेतलाई बेवास्ता गरिरहन्छौँ। म पनि त्यही गर्दै थिएँ। करिब एक सातादेखि शरीरले केही फरक संकेत दिइरहेको थियो। थकान अलि बढी थियो, मन अलि बेचैन थियो। तर मैले त्यसलाई सामान्य ठानें- दैनिक जीवनका तनावहरू जस्तै। काम, जिम्मेवारी, परिवार, समाज- यी सबैबीच आफूलाई बिर्सनु त हाम्रो बानी नै हो। हामी अरूका लागि दौडिरहेका हुन्छौँ, तर आफ्नो शरीरले के भनिरहेको छ भन्ने सुन्ने फुर्सद नै हुँदैन ।
तर सबैभन्दा ठूलो संकेत थियो- निन्द्रा हराउनु। दुई सातादेखि मलाई राम्ररी निद्रा लागेको थिएन। रात बित्थ्यो, आँखा बन्द हुन्थे, तर मन जागै रहन्थ्यो। शरीर थाक्थ्यो, तर मस्तिष्क भागिरहन्थ्यो- अनगिन्ती सोचहरू लिएर। कहिले पुराना कुरा सम्झिन्थें, कहिले भविष्यको चिन्ता, कहिले कुनै कारण नै नभएको बेचैनी। “केहि भएको छैन, आफै ठीक हुन्छ,” म आफैलाई बारम्बार सम्झाउँथें। तर त्यो सम्झाइ केवल शब्दमा सीमित थियो- शरीरले त्यो मानिरहेको थिएन।
तर त्यो “ठीक हुन्छ” भन्ने आश्वासन झूटो साबित हुँदै थियो।
एक दिन, अचानक, सबै कुरा बदलियो। छाती एक्कासि गह्रौं भयो। जस्तो कसैले भित्रबाट थिचिरहेको होस्। सास त चलिरहेको थियो, तर मनमा अकल्पनीय डर उठ्यो। मुटुको धड्कन – त्यो त झन् आफ्नो नियन्त्रणबाहिर जाँदै थियो। यस्तो लाग्थ्यो, जस्तो मुटुले शरीरको नियम नै परिवर्तन गरिरहेको होस्। हरेक धड्कनसँग डर थपिँदै थियो।
म चियापसल पुगें, जहाँ म प्रायः साथीभाइसँग बस्ने गर्थे। त्यो ठाउँ, जहाँ हाँसो, गफ र सामान्य जीवनको अनुभूति हुन्थ्यो। तर त्यो दिन, त्यही ठाउँ अपरिचित जस्तो लाग्यो।
चिनजानका अनुहारहरू थिए-तर म उनीहरूबाट टाढा थिएँ। उनीहरू बोलिरहेका थिए, हाँसिरहेका थिए, तर म त्यो संसारको हिस्सा जस्तो लागिरहेको थिएन। दिउँसो घरमा खाना खान जानुपर्ने – तर त्यो पनि मन लागेन। आमाले फोन गर्नुभयो, “खाना खान आउँछौ?” मैले सहज स्वरमा भनें- “साँझ खान्छु।” तर त्यो केवल शब्द थियो, मनको अवस्था होइन। वास्तवमा, मलाई खाना होइन, आफूलाई नै सम्हाल्न गाह्रो भइरहेको थियो। सामान्यतया, खाली समयमा म सामाजिक सञ्जाल स्क्रोल गर्दै – तर त्यो दिन मोबाइल पनि बोझ लागिरहेको थियो। कुनै कुरा लेख्न, बोल्न, प्रतिक्रिया दिन – केही पनि इच्छा थिएन। जस्तो मनले सबैसँग दूरी बनाउन खोजिरहेको होस्। साँझ नजिकिँदै गयो, र मेरो अवस्था झन् गम्भीर हुँदै गयो।
मुटुको धड्कन तीव्र हुन थाल्यो – असामान्य रूपमा। त्यो केवल शारीरिक समस्या मात्र थिएन, त्यो मानसिक रूपमा पनि गहिरो असर पारिरहेको थियो। त्यो सामान्य डर थिएन। त्यो एउटा अनजान भय थियो, जसको कुनै स्पष्ट कारण थिएन, तर प्रभाव गहिरो थियो। त्यसपछि मैले निर्णय लिएँ- अब यसलाई बेवास्ता गर्न सकिँदैन। म स्वास्थ्यकर्मी तथा व्यवसायी भाइ कृष्णहरिलाई भेट्न गएँ। उहाँले मेरो कुरा ध्यान दिएर सुन्नुभयो। मेरो अनुहार, मेरो आवाज, मेरो अवस्था- सबै कुरा हेरेपछि उहाँले ढिलो नगरी भन्नुभयो – “पहिला मुटुको चाल जाँच गरौं।” “ईसीजी” गरियो। र त्यहाँ, कागजमा देखिएको ती लहरहरूले मेरो मनभित्रको डरलाई पुष्टि गरिदियो – धड्कन सामान्य थिएन।
मैले उहाँलाई भनें- “मलाई एक सातादेखि निन्द्रा छैन, औषधि खाइरहेको छु। सुत्न पाएपछि यो ठिक हुन्छ होला नि?” उहाँले गम्भीर स्वरमा भन्नुभयो- “दाइ, यो सामान्य होइन। तत्काल अस्पताल जानुपर्छ।” त्यो वाक्य सुनेपछि, एकछिन म निसब्द भएँ। मानिस कहिलेकाहीँ यथार्थ स्वीकार्न डराउँछ। म पनि त्यही अवस्थामा थिएँ। म फेरि चियापसल फर्किएँ। बसें। केही गरेन। केवल सोचिरहें। “के यति ठूलो समस्या हो?” “म त दिनभरि हिँडडुल गर्ने मान्छे…” “मलाई केही भएको छैन होला…” तर शरीरले झूट बोल्दैन। अन्ततः, मैले अर्को साथीलाई फोन गरें। उहाँले पनि तुरुन्त डाक्टर भेट्न सुझाव दिनुभयो। अब मसँग विकल्प थिएन। म निजी अस्पताल पुगें।
त्यहाँ आधा घण्टा प्रतीक्षा गरेँ। त्यो आधा घण्टा मेरो जीवनकै सबैभन्दा लामो समय जस्तो लाग्यो। हरेक मिनेट भारी थियो। मनमा एउटै कुरा घुमिरहयो – “अब के हुन्छ?” डाक्टर आउनुभयो। उहाँको अनुहार गम्भीर थियो। केही सामान्य प्रश्नपछि उहाँले “ईसीजी” हेर्नुभयो। त्यसपछि बिना ढिलाइ भन्नुभयो- “इको गरौं।” इको भइरहेको बेला, म बाहिरबाट शान्त थिएँ- तर भित्र डरको आँधी चलिरहेको थियो। अचानक, डाक्टरले भन्नुभयो- “तपाईं सिरियस केसमा हुनुहुन्छ।”
त्यसपछि उहाँले सोध्नुभयो- “घरमा को-को छन्?” “बच्चाहरू कति छन्?” “हेर्ने मान्छे छन् कि छैनन्?” यी प्रश्नहरू केवल जानकारीका लागि थिएनन् – यीले मेरो मनमा भयको चित्र कोर्न थाले। इको सकियो। र त्यसपछि आएको निष्कर्षले मेरो संसार नै रोकिदियो- “हार्टमा समस्या छ। तुरुन्त भर्ना हुनुपर्छ।” त्यो क्षण, समय रोकिएको जस्तो लाग्यो। म एक्लै थिएँ। अस्पतालको कोठामा। हातमा रिपोर्ट। मनमा हजारौं प्रश्न। “के साँच्चै यति गम्भीर हो?” “म त हिजोसम्म सामान्य थिएँ…” “अब के हुन्छ?”
मैले डाक्टरलाई भनें-” आज घर जान पाउँछु? बच्चाहरू छन्… परीक्षा छ… आमा-बुवा बिरामी छन्… उहाँले सिधै भन्नुभयो – “तपाईं हुनुहुन्छ भने सबै हुन्छ। अहिले स्वास्थ्य प्राथमिक हो।” त्यो सत्य थियो- तर स्वीकार्न गाह्रो।
म घर फर्किएँ। घर पुग्दा वातावरण नै बदललिएको थियो।
मैले कुरा सुनाएँ। बच्चाहरू रोए। घरभित्र एक किसिमको डर फैलियो। त्यो दृश्य सहन गाह्रो थियो। एकातिर आफ्नो अवस्था, अर्कोतिर परिवारको भावनात्मक अवस्था – दुवै भारी थिए। तर समय पर्खेर बस्दैन । म फेरि अस्पताल फर्किएँ। स्कुटी नचलाउन भनिएको थियो- तर मैले चलाएँ। किनकि कहिलेकाहीँ मानिस डरभन्दा पनि जिद्दी हुन्छ, र कहिलेकाहीँ त्यो जिद्दी नै उसलाई अगाडि बढाउने शक्ति हुन्छ। अस्पताल पुगेपछि, सबै प्रक्रिया तीव्र भयो। ब्लड टेस्ट, रिपोर्ट, डाक्टरहरूको आवतजावत… म आफै हिँडिरहेको थिएँ, तर बिस्तारै महसुस हुँदै थियो- अब म बिरामी भएको छु।
मलाई एचडीयुमा सारियो। त्यहाँ शरीरमा तारहरू जडान गरियो। हार्ट मोनिटरले मेरो धड्कन स्क्रिनमा देखाइरहेको थियो। अब म स्वतन्त्र थिएन। उठ्न, हिँड्न – सबै सीमित।
र त्यो रात… त्यो रात मेरो जीवनको सबैभन्दा लामो, सबैभन्दा गहिरो रात थियो। म ओछ्यानमा थिएँ। आँखा खुला। छततिर हेर्दै। मनमा प्रश्नहरू थिए- “के म ठीक हुन्छु?” “मेरो परिवार के हुन्छ?” “मैले अझ कति बाँच्न पाउँछु?” हार्ट मोनिटरले धड्कन देखाइरहेको थियो- तर मनको धड्कन कसैले मापन गर्न सक्दैन। त्यो रात मैले पहिलो पटक जीवनलाई नजिकबाट महसुस गरेँ। हामी दिनभरि दौडिरहेका हुन्छौँ-कामका लागि, पैसाका लागि, जिम्मेवारीका लागि। तर शरीरले एकपटक रोकिन भन्यो भने, हामी पूर्ण रूपमा असहाय हुन्छौँ।
अस्पतालको अनुभवले अर्को कुरा पनि सिकायो – उपचार केवल औषधि होइन। कहिलेकाहीँ, शब्दहरूले पनि चोट दिन्छन्। कसैले सार्वजनिक रूपमा तपाईंको जीवनशैलीको आलोचना गर्दा, तपाईंको कमजोरीहरू उजागर गर्दा – त्यो केवल सूचना होइन, त्यो भावनामा चोट हो। प्रत्येक बिरामी एउटा कथा हो। प्रत्येक शरीरको आफ्नै इतिहास हुन्छ। प्रत्येक रोगको आफ्नै कारण हुन्छ। र सबै कुरा खानपानले मात्र निर्धारण हुँदैन। त्यो रातपछि, मैले धेरै कुरा बुझें – जीवन अनिश्चित छ। स्वास्थ्य प्राथमिक हो। र- मानिसलाई उपचार मात्र होइन, सम्मान पनि चाहिन्छ। आज म त्यो अवस्थाबाट बाहिर निस्कने प्रयासमा छु। शरीर बिस्तारै सुधारतर्फ जाँदैछ। तर मनमा त्यो रातको सम्झना अझै जीवित छ।
सायद, त्यो सम्झनाले नै मलाई अब सजग बनाइरहेको छ। किनकि कहिलेकाहीँ, जीवनले हामीलाई रोक्छ- हामीलाई बचाउनका लागि।































