अमरनगर टोलमा रु. २० लाखको आरसीसी नाला तथा सडक स्तरोन्नति योजनाको शिलान्यास
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्। वडाध्यक्ष दीपक कुमार वर्मा ले हप्तैपिच्छे विभिन्न विकास योजनाहरूको शिलान्यास गर्दै निर्माण कार्यलाई गति दिनुभएको छ।
यसै क्रममा आज वडा नं. १८ अन्तर्गत अमरनगर टोलमा रु. २० लाखको लागतमा निर्माण हुने आरसीसी नालासहित सडक स्तरोन्नति योजनाको शिलान्यास गरिएको छ। उक्त योजना सम्पन्न भएपछि वर्षौंदेखिको जलनिकास तथा सडक आवागमनसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ।
निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहेको वर्तमान अवस्थामा पनि वडाध्यक्ष वर्माको सक्रिय पहल र निरन्तर अनुगमनका कारण वडाभित्रका विकास निर्माणका कामहरू धमाधम सञ्चालन भइरहेका छन्। चालु आर्थिक वर्ष समाप्त हुनुअघि नै अधिकांश योजनाहरू सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको जनाइएको छ।
स्थानीय बासिन्दाले विकास निर्माणका कामहरू निरन्तर अघि बढेकामा खुसी व्यक्त गरेका छन्। उनीहरूले सडक तथा नाला निर्माणले टोलको स्वरूप परिवर्तन हुनुका साथै दैनिक जीवन सहज बन्ने विश्वास व्यक्त गरेका छन्।
वडा नं. १८ मा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, नाला तथा अन्य जनमुखी योजनाहरू क्रमिक रूपमा कार्यान्वयन भइरहेका छन्, जसले समग्र वडाको विकासमा नयाँ ऊर्जा थपेको स्थानीयवासीको भनाइ छ।






























