पश्चिम नेपालका चार जिल्लामा भारतसँग जोडिएका सीमा स्तम्भ सम्बन्धी समस्या समाधान गरिएको छ । सीमा सर्भेका लागि गठित दुई देशका संयुक्त प्राविधिक टिमले स्थलगत अध्ययन गरी कपिलवस्तु, दाङ्ग, बाँके र बर्दियाका सीमा स्तम्भ सम्बन्धी समस्या समाधान गरेका हुन् ।
सम्बद्ध स्रोतका अनुसार, त्यसक्रममा १ सय ४ वटा सीमा स्तम्भ मर्मत गरिएका छन् भने ४४ वटा स्तम्भ नयाँ निर्माण गरिएका हुन् । ‘बाँकेमा मात्रै २२ वटा नयाँ स्तम्भ निर्माण गरिएका छन्’, निर्विवाद ढंगले सीमा स्तम्भ मर्मत तथा निर्माण गरिएको जानकारी दिंदै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले दैनिक नेपालगन्जसँग भने ४९ वटा मर्मतसम्हार गरिएका छन् । यसरी मर्मतसम्हार गर्दा जोरनम्बरका भारतले र विजोर नम्बरका सीमा स्तम्भ नेपालले निर्माण गर्ने सहमति अनुसार काम गरिएको हो । ‘त्यसक्रममा भारत तर्फ श्रावस्ती जिल्ला तर्फ ४६ वटा मर्मतसम्हार र १६ वटा सीमा स्तम्भ नयाँ बनाइएको छ’, प्रजिअ तामांगले भने ।
यसैबीच, नेपाल–भारत सीमा सर्भे टिमको आधारभूत प्रतिवेदन समीक्षाका लागि मंगलबार नेपालगन्जमा संयुक्त बैठक आयोजना भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगको नेतृत्वमा भएको समीक्षा बैठकले संयुक्त ‘फिल्ड सर्भे टिम–३’ को प्राविधिक प्रतिवेदनमा छलफल गरेको हो ।
नेपाल–भारत सीमा सर्भे, फिल्ड सर्भे टिमका बाँके जिल्ला प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी तामांगले कपिलवस्तु, दाङ्ग, बाँके र बर्दियाका फिल्ड सर्भे टिम सहभागी बैठकले दुई देशका प्राविधिक टिमले तयार गरेको प्रगति प्रतिवेदन समीक्षा गर्दै अनुमोदन गरिएको जानकारी दिए । ‘बाँकेमा राप्तीपूर्व नरैनापुर क्षेत्रमा सर्भेको काम भएको हो’, फिल्ड सर्भे टिमको नेतृत्व गरिरहेका प्रजिअ तामांगले भने, ‘झण्डै ६५ किलोमिटरको हाम्रो सीमा टेरिटोरीमा कुनै विवाद देखिएन ।’
भारत तर्फ श्रावस्तीका डिएम अन्नपूर्ण गर्ग, बलरामपुर जिल्लाका डिएम विपिन कुमार जैन, बहराइचका डिएफओ लगायतका भारतीय प्रशासनिक अधिकारीको सहभागिता नेपालगन्जमा भएको दोस्रो ज्वाइन्ट टिम सर्भे बैठक–टिम ३ को मंगलबार भएको बैठकले गरेको सिफारिसलाई सर्भे अफिसियल कमिटि (एसएसओसी)ले आवश्यक अध्ययन गरी माथिल्लो निकाय अर्थात् बाउन्ड्रि वर्किङ्ग गु्रप (बिडब्लुजी) समक्ष पठाउनेछ ।
सम्बद्ध अधिकारीका अनुसार, नेपाल–भारत बीच सीमा समस्यालाई लिएर उच्चस्तरीय बहस र चर्चा भैरहँदा देशभर विभिन्न चार वटा टिमले फिल्ड सर्भेको काम गरिरहेका छन् ।
कोशीमा टिम–१, मधेशमा टिम–२, लुम्बिनी टिम–३ र सुदूरपश्चिम क्षेत्रमा टिम–४ ले संयुक्त फिल्ड सर्भेको काम गरिरहेका छन् ।
बैठकमा सहभागी बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले सौहार्दपूर्ण भएको छलफलमा सीमा समस्याका हरेक विषयवस्तुलाई महिन ढंगले छलफल गरिएको बताए । झण्डै तीन महिना अगाडि नरैनापुर पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी तामांग, प्रहरी प्रमुख जिसी सहितका फिल्ड सर्भे टिमका अधिकारी तथा भारत तर्फका प्राविधिकहरूले संयुक्त रूपमा फिल्ड सर्भेको काम सुरु गरेका थिए । ‘फिल्डमा कहीकतै पनि विवादित अवस्था नरहेको प्राविधिक टिमको निष्कर्ष थियो’, बैठकबारे सोधिएको प्रश्नमा प्रहरी उपरीक्षक जिसीले दैनिक नेपालगन्जसँग भने ।




























