३५ खेलाडी प्रतिस्पर्धामा उत्रिंदै
नेपालगन्जमा राष्ट्रियस्तरको ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ आयोजना हुने भएको छ । आज शनिवार हुने प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट ३५ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । साइकलिङ खेलको नयाँ विधाका रूपमा विस्तार भइरहेको पम्प ट्रयाकको प्रवद्र्धन, नयाँ खेलाडीको खोजी तथा खेल पर्यटनलाई टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।
नेपालगन्ज बाइसाइकल प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका–१, कोहलपुर नगरपालिका, बाँके जिल्ला साइकलिङ संघ तथा नेपालगन्ज साइक्लिङ क्लबको सहकार्यमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा उमेर समूहका आधारमा ६ वटा विधामा प्रतिस्पर्धा गराइने नेपालगन्ज बाइसाइकल प्रालिका निर्देशक गगन थापाले बताए ।
उनका अनुसार, नेपालमा हाल पम्प ट्र्याकको संरचना नेपालगन्ज र ललितपुरमा मात्रै रहेको छ । आवश्यक पूर्वाधार सीमित भएकै कारण यो विधामा खेलाडीको संख्या पनि धेरै हुन सकेको छैन । तर पछिल्ला वर्षमा युवामाझ यसको आकर्षण बढ्दै गएको उनले बताए ।
थापाले प्रतियोगिताले पम्प ट्र्याक खेललाई थप लोकप्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालगन्ज पम्प ट्र्याकको विकास र प्रचारप्रसारसँगै नयाँ प्रतिभा पहिचान गर्न तथा खेल पर्यटन प्रवद्र्धन गर्न यो प्रतियोगिता उपयोगी हुनेछ ।’
नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले पम्प ट्र्याक निर्माणपछि साइकल खेलप्रति रुचि राख्ने युवाको संख्या बढ्दै गएको बताए । नियमित अभ्यास गर्ने र व्यावसायिक खेलाडी बन्न चाहने युवाको सहभागिता पनि विस्तार हुँदै गएको उनको भनाइ थियो ।
प्रतियोगिताले खेलकुद संस्कृतिको विकासमा योगदान पुग्ने उनको विश्वास छ । रिजालले भने, ‘यस प्रकारका प्रतियोगिताले युवालाई खेलप्रति आकर्षित गर्छन् । स्वस्थ जीवनशैलीको प्रवद्र्धन हुन्छ । वातावरणमैत्री यातायातका रूपमा साइकलप्रतिको आकर्षण बढ्छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि आधार तयार गर्न पनि सहयोग पुग्छ ।’
नेपालगन्जमा रहेको पम्प ट्रयाक संरचनालाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो प्रतियोगितालाई स्थानीय खेलकुद क्षेत्रले महत्वका साथ हेरेको छ । आयोजकका अनुसार, प्रतियोगितामार्फत साइक्लिङ खेलको दायरा विस्तार गर्नुका साथै नेपालगन्जलाई साहसिक तथा खेल पर्यटनको गन्तव्यका रूपमा चिनाउने प्रयास पनि गरिनेछ ।



























