संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले नेपाल पर्यटन बोर्डको पुनर्संरचना गरिने बताएका छन् ।
आगामी बजेटमै उच्च प्राथमिकताका साथ बोर्डको पुनर्संरचनालाई राखिएको भन्दै नेपालको पर्यटन विकासका लागि पर्यटन बोर्डको पुनर्संरचना आवश्यक रहेको बताए । नेपालगन्ज विमानस्थलको अनुगमनका लागि शनिबार साँझ नेपालगन्ज आइपुगेका मन्त्री पौडेलले बाँकेका होटल तथा पर्यटन व्यवसायीहरुसँग गरेको अन्तरक्रियामा नाथम नेपालगन्ज फिर्ता ल्याउन आफुले तत्कालै पहल थाल्ने आश्वासन दिए ।
मन्त्री पौडेललाई नेपालगन्ज आइसकेको नाथमलाई टिक्न नदिन अनावश्यक चलखेल भएको भन्दै गुनासो गरेपछि मन्त्री पौडेलले व्यवसायीहरुसँग भने, ‘तपाई जग्गाको सुनिश्चितता गर्नुस्, नाथम नेपालगन्जमा आउँछ ।’ व्यवसायीहरुले नेपालगन्ज–पोखरा उडान रोकिंदा पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव परेको गुनासो गर्दै विदेशी पर्यटकलाई हवाई भाडादरमा भएको विभेद खारेज गर्न माग गरे ।
हान बाँकेका अध्यक्ष दिवाकर खनाल, वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेल, नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्ली राज रेग्मी, संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पर्यटन व्यवसायी देवानन्द अर्याल लगायतले पश्चिम क्षेत्रमा रहेका पर्यटकीय सम्भवना र त्यसमा देखिएका अवरोध बारे मन्त्री पौडेललाई जानकारी गराएका थिए ।
धैर्यता पूर्वक व्यवसायीका कुरा सुनेका मन्त्री पौडेलले समस्या समाधानका लागि आफ्नो प्रतिबद्धता जनाउँदै भने, ‘सकेसम्म यी समस्या समाधानका लागि प्रयास गरिनेछ ।’
त्यसक्रममा व्यवसायीहरुले अर्बौको लगानी जोखिममा पर्ने गरी भैरहेका गतिविधिहरु, नीति नियम र व्यवहारिक कठिनाइहरुलाई पहिचान गरी समाधान गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।
नेपाललाई धार्मिक तथा पर्यापटकीय दृष्टि उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको औंल्याउँदै त्यस अनुकुल वातावरण बनाउन माग गरे । उनीहरुको भनाइ थियो, ‘सीमा नाकामा हुने भारतीय पर्यटकलाई दुव्र्यवहार तत्कालै राकिनु पर्छ ।’





























