म अस्पतालमा नयाँ मान्छे थिइनँ । विभिन्न समयमा स्वास्थ्य जाँचका लागि अस्पताल गएको थिएँ । तर १७ चैत २०८२ अघि म आफैँ अस्पतालको बेडमा बिरामीका रूपमा एक रात पनि बसेको थिइनँ । आफ्ना परिवारका सदस्यहरू—आमा, बुवा, दिदी, भाइ र श्रीमतीका लागि भने मैले अस्पतालमा थुप्रै रातहरू बिताएको थिएँ । रात मात्र होइन, उपचारकै क्रममा आफ्ना केही आफन्तहरू गुमाएको पीडा पनि भोगेको थिएँ । त्यसैले स्वास्थ्य समस्या, अस्पताल र औषधिसँग जुध्न सकिन्छ भन्ने विश्वास मभित्र थियो ।
मानिसको शरीर हो, कतिबेला के हुन्छ कसैलाई थाहा हुँदैन रहेछ । मेरो शरीर पनि आफ्नै रफ्तारमा दौडिरहेको थियो । काम, जिम्मेवारी र व्यस्तताबीच जीवन अघि बढिरहेको थियो । मैले कहिल्यै कल्पना गरेको थिइनँ कि म यति धेरै थलिनेछु । थलिनु मात्र होइन, चार दशकभन्दा बढी समयदेखि चल्दै आएको मेरो दैनिकी नै एकाएक फरक हुनेछ भन्ने मनमा एकरत्ति पनि थिएन ।
आज दुई महिनाभन्दा बढी समय अस्पताल र घरको बिछ्यौनाबीच बितिसकेको छ । मनमा अनेकौँ आरोह–अवरोह आए । कहिले आशा जाग्यो, कहिले डरले घे¥यो । अझै केही महिनासम्म मेरो दिनचर्या धेरै फरक हुने देखिँदैन । जीवन फेरि विस्तारै रुटिनमा फर्किन खोज्दैछ, तर त्यो पहिलेको जस्तो छैन । पानीसमेत नापतौल गरेर पिउनुपर्छ । आफ्नै घरभित्र पनि सोचेर हिँड्नुपर्छ । पहिले सामान्य लाग्ने धेरै कामहरू आज सावधानीका विषय बनेको छ ।
यो यात्राले मलाई एउटा कुरा बुझायो—जब स्वास्थ्य समस्या गम्भीर बन्छ, त्यसले शरीरलाई मात्र होइन, मन, भावना र सोचाइलाई पनि गहिरो रूपमा असर गर्छ । अस्पतालका कोठा, परीक्षणका रिपोर्टहरू, औषधिका नामहरू, डाक्टरसँगका भेटघाट र भविष्यप्रतिको अनिश्चितताबीच मानिसले आफैलाई नयाँ ढंगले चिन्न थाल्दोरहेछ । मैले पनि त्यही अनुभव गरेँ । सायद बिछ्यौनामा सिकिने पहिलो पाठ यही हो वा थियो ।
रोग लाग्नु शरीरको कमजोरी मात्र होइन रहेछ । कहिलेकाहीँ यो जीवनले सोधेको एउटा गम्भीर प्रश्न पनि रहेछ । म वास्तवमा कति बलियो छु? मैले आफ्नो शरीरलाई कति महत्व दिएको रहेछु? आफ्ना सम्बन्धहरूलाई कति समय दिएको रहेछु? जीवनलाई मैले कति बुझेको रहेछु? यस्ता प्रश्नहरूको उत्तर कुनै मेडिकल रिपोर्टले दिँदैन । ती उत्तरहरू त आफ्नै अनुभवभित्र खोज्नुपर्दोरहेछ ।
जब आफ्नै कोठाभन्दा बाहिरको संसारमा पुग्न पनि अरूको सहारा चाहिने अवस्था आउँछ, तब जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिन थाल्दोरहेछ । आफूले सामान्य ठानेका कुराहरू असाधारण लाग्न थाल्छन् । स्वतन्त्र रूपमा हिँड्न सक्नु, मन लागेको बेला बाहिर निस्कन सक्नु, कुनै योजना बिना दिन बिताउन सक्नु—यी सबै कुरा कति मूल्यवान् रहेछन् भन्ने बल्ल महसुस हुँदोरहेछ ।
यसबीच मैले चिकित्सा विज्ञानप्रति झन् धेरै सम्मान गर्न सिकेको छु । आज विज्ञानले असम्भवजस्ता लाग्ने धेरै रोगहरूको उपचार सम्भव बनाएको छ । जटिल शल्यक्रियाहरू सामान्य बन्दै गएका छन् । आधुनिक औषधि र प्रविधिले लाखौँ मानिसको जीवन बचाएको छ । त्यसैले चिकित्सकको सल्लाह, उपचार र विज्ञानमाथिको विश्वास अत्यन्त आवश्यक छ भन्ने कुरामा म अझ दृढ भएको छु ।
तर उपचारको एउटा पक्ष यस्तो पनि रहेछ, जसलाई कुनै मेसिनले नाप्न सक्दैन र कुनै रिपोर्टमा देखाउन सक्दैन । त्यो हो—आत्मबल । शरीर र मनको सम्बन्ध कति गहिरो हुन्छ भन्ने कुरा मैले यही यात्रामा अनुभव गरेँ । यदि मन निरन्तर डर, तनाव र चिन्ताले भरिएको छ भने त्यसको असर शरीरले पनि महसुस गर्छ । यसको अर्थ केवल सकारात्मक सोचले मात्र रोग निको हुन्छ भन्ने होइन । तर उपचारको यात्रामा मनको अवस्था पनि एउटा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा भने मैले अनुभवबाट बुझेँ । शान्त मनले सही निर्णय लिन मद्दत गर्दोरहेछ । धैर्य राख्न सिकाउँदोरहेछ । उपचारको लामो यात्रामा थाक्न नदिने शक्ति दिँदोरहेछ ।
स्वास्थ्य समस्या देखिएपछि मैले आफूलाई दुईवटा लडाइँ लडिरहेको अवस्थामा पाएँ । एउटा रोगसँगको लडाइँ र अर्को आफ्नै डरसँगको । धेरै पटक दोस्रो लडाइँ पहिलोभन्दा कठिन लाग्यो । “अब के होला?“, “म पूर्ण रूपमा निको हुन्छु कि हुँदिन?“, “फेरि पहिलेको जीवनमा फर्कन सकुँला कि नसकुँला?“ यस्ता प्रश्नहरू बारम्बार मनमा आइरहे । आज पनि कहिलेकाहीँ आउँछन् । तर समयसँगै मैले एउटा कुरा बुझ्न थालेँ—हरेक प्रश्नको उत्तर तुरुन्तै खोज्न आवश्यक हुँदैन । जीवनका केही उत्तर समयले आफै दिन्छ ।
मेरो लागि अर्को चुनौती सामाजिक सञ्जाल र वरिपरिको सल्लाहको बाढी पनि बन्यो । आजको डिजिटल युगमा स्वास्थ्यसम्बन्धी जानकारी जताततै छ । कसैले कुनै औषधिलाई चमत्कारी भन्छ, कसैले कुनै घरेलु उपायलाई अन्तिम समाधान ठान्छ । कसैले आफ्नो अनुभवलाई सबैका लागि लागू हुने सत्यजस्तो प्रस्तुत गर्छ । यस्ता सामग्री पढ्दा झन् अन्योल बढ्न सक्छ । समुदायमा पाइलैपिच्छे भेटिने स्वास्थ्य सल्लाहबाट बच्न पनि कहिलेकाहीँ ठूलो संघर्ष गर्नुपर्दोरहेछ ।
मैले यसबाट एउटा महत्त्वपूर्ण कुरा सिकेँ । हरेक शरीरको आफ्नै इतिहास हुन्छ । उमेर फरक हुन्छ । जीवनशैली फरक हुन्छ । आनुवंशिक बनावट फरक हुन्छ । एउटै रोग भएका दुई व्यक्तिको उपचार र परिणाम पनि फरक हुन सक्छ । त्यसैले अरूको अनुभव सुन्न सकिन्छ, सिक्न सकिन्छ, तर त्यसलाई आफ्नो भविष्यको भविष्यवाणी बनाउनु आवश्यक छैन ।
यो यात्रामा आशा मेरो महत्त्वपूर्ण साथी बनेको छ । तर आशा भन्नाले मैले अवास्तविक कल्पना बुझेको छैन । मेरो बुझाइमा आशा भनेको कठिन परिस्थिति हुँदा पनि सम्भावनालाई जीवित राख्ने क्षमता हो । कतिपय दिन राम्रो हुन्छन्, कतिपय दिन कठिन । कहिलेकाहीँ सुधार भइरहेको जस्तो लाग्छ, कहिलेकाहीँ फेरि निराशा आउँछ । उपचारको यात्रा सीधा रेखाजस्तो हुँदैन । त्यसमा उतारचढाव आउँछन् । त्यसैले एउटा खराब दिनलाई सम्पूर्ण भविष्यको निष्कर्ष बनाउनु उचित हुँदैन भन्ने कुरा मैले सिक्दै छु ।
यस यात्रामा परिवार, साथीभाइ र शुभेच्छुकहरूको साथ अमूल्य रह्यो । कसैले फोन गरेर स्वास्थ्य सोध्दा, कसैले एउटा सन्देश पठाउँदा, कसैले केही समय दिएर साथ दिँदा त्यसको अर्थ कति ठूलो हुँदोरहेछ भन्ने मैले अनुभव गरेँ । कठिन समयमा मानिसलाई आफू एक्लो छैन भन्ने अनुभूति गराउनु पनि एउटा उपचार नै रहेछ । यति हुँदाहुँदै पनि अन्तिम रूपमा साहस भने आफैंले खोज्नुपर्दोरहेछ । अरूले साथ दिन सक्छन्, हौसला दिन सक्छन्, बाटो देखाउन सक्छन् । तर त्यो बाटो हिँड्ने काम भने आफ्नै हुन्छ ।
शरीरलाई चलायमान राख्ने प्रयास पनि उत्तिकै महत्वपूर्ण रहेछ । चिकित्सकले अनुमति दिएको सीमाभित्र रहेर केही पाइला हिँड्नु, हल्का व्यायाम गर्नु, घाममा केहीबेर बस्नु, नियमित निद्रा लिनु—यी सामान्य लाग्ने कुराहरूले पनि आत्मविश्वास बढाउँदा रहेछन् । जीवन फेरि आफ्नो नियन्त्रणमा फर्किरहेको अनुभूति दिलाउँदा रहेछन् ।
यो कठिन समयले मलाई जीवनको वास्तविक मूल्य पनि सिकाएको छ । पहिले सामान्य लाग्ने धेरै कुरा आज विशेष लाग्न थालेका छन् । सहज रूपमा सास फेर्न पाउनु, आफ्ना मानिसहरूसँग बस्न पाउनु, बिहान उठेर नयाँ दिन देख्न पाउनु, मन लागेको ठाउँसम्म हिँड्न पाउनु—यी सबै कुराको अर्थ आज पहिलेभन्दा धेरै गहिरो भएको छ ।
सायद जीवनको सुन्दरता पनि यही हो । हामी सबै नश्वर छौँ भन्ने सत्य थाहा हुँदाहुँदै पनि हरेक दिनलाई अर्थपूर्ण बनाउन खोज्छौँ । स्वास्थ्यको चुनौतीले यही सत्यलाई अझ स्पष्ट बनाइदिन्छ । यसले हामीलाई डराउन मात्र होइन, अझ सचेत भएर बाँच्न पनि सिकाउँछ ।
आज पनि मेरो उपचारको यात्रा सकिएको छैन । अझै केही समय सावधानी अपनाउनुपर्ने छ । तर यो यात्राले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकाएको छ—स्वास्थ्य केवल शरीरको अवस्था मात्र होइन, यो मन, धैर्य, आशा र सम्बन्धहरूको पनि यात्रा रहेछ । जीवन सधैँ हाम्रो योजना अनुसार चल्दैन । तर परिस्थितिले जस्तोसुकै मोड लिए पनि एउटा कुरा भने हाम्रो हातमा रहन्छ—हामी त्यसलाई कसरी सामना गर्छौँ । र धेरै पटक, यही निर्णयले उपचारको यात्रालाई अर्थपूर्ण बनाइदिन्छ ।



























