नेपाल युवा उद्यमी मञ्च (NYEF) नेपालगञ्ज च्याप्टरको तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सन् २०२६–२०२७ कार्यकालका लागि इन्जिनियर अरशद कमाल सिद्दिकी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा अल्ताफ बगवान तथा द्वितीय उपाध्यक्षमा सिद्धान्त जसरोटिया चयन भएका छन्।
त्यस्तै, संस्थापक अध्यक्ष डा. नितेश कुमार कनोडिया, पूर्वअध्यक्ष तीर्थबहादुर थापा र निवर्तमान अध्यक्ष डा. ओमप्रकाश मिश्र सल्लाहकारका रूपमा रहनेछन्।
कार्यसमितिका अन्य सदस्यहरूमा दीपेश वैष (लर्निङ चेयर), बसन्त भण्डारी (फाइनान्स चेयर), सिद्धान्त अग्रवाल (इभेन्ट चेयर), यश वैष (मेम्बर चेयर), अभिनय शर्मा, वंश दुगार, इ. राजीव सुवेदी, रिहान मियाँ र कुनाल लाखेर रहेका छन्।
अधिवेशनमा च्याप्टरको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। नवनिर्वाचित कार्यसमितिले सिकाइ, नेतृत्व विकास, व्यवसायिक सहकार्य, नवप्रवर्तन तथा युवा उद्यमशीलताको प्रवर्द्धनमार्फत नेपालगञ्जलाई उद्यमशीलताको सशक्त केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।
यसैबीच, बन्दसत्रमार्फत नयाँ नेतृत्व चयन गरेपछि साँझ “Mehfil-e-Udyam – The Royal Business Gathering” शीर्षकमा खुला सत्र आयोजना गरिएको थियो। नेपालगञ्जको सांस्कृतिक पहिचान, लखनवी–मुगलई आतिथ्य र आधुनिक उद्यमशीलतालाई जोडेर आयोजित कार्यक्रममा युवा उद्यमी, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था तथा सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा अनुभवी उद्योगी–व्यवसायीहरूसँग अन्तरक्रिया, B2B नेटवर्किङ, नयाँ व्यवसायिक सम्बन्ध विस्तार, विचार आदानप्रदान, सांस्कृतिक प्रस्तुति तथा रोयल मुगलई दस्तरख्वान मुख्य आकर्षण बनेका थिए।
आयोजकका अनुसार “Where Vision Meets Opportunity” भन्ने मूल भावनासहित आयोजित कार्यक्रमले नेपालगञ्जमा व्यवसायिक सहकार्य, नवप्रवर्तन र युवा उद्यमशीलताको प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ।





























