बालिकालाई केवल निगरानी र बन्द व्यवस्थाभित्र सीमित राखेर सुधार सम्भव नहुने सन्देश दिँदै बाँकेको डुडुवा गाउँपालिका–आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहले योग, ध्यान, प्राणायाम र कानूनी साक्षरतालाई एकैसाथ जोड्ने नयाँ अभ्यास सुरु गरेको छ ।
जयेन्दु बाल सुधार गृहको मुख्य आयोजनामा विहीवार गृहभित्रै एकदिने योग, ध्यान, प्राणायाम तथा कानूनी प्रशिक्षण कार्यक्रम आयोजना भएको हो । मानसिक स्वास्थ्य सुदृढीकरण, आत्मविश्वास अभिवृद्धि र कानूनी चेतनालाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो पहललाई सुधारात्मक न्याय प्रणालीमा सकारात्मक हस्तक्षेपका रूपमा हेरिएको छ ।
एडभोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतमको मुख्य सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा कानूनी ज्ञानसँगै मानसिक स्वास्थ्यलाई जोड्ने अभ्यास गराइएको थियो । सहभागी बालकहरूले कार्यक्रमलाई औपचारिक प्रशिक्षणभन्दा पनि आत्मबल बढाउने अवसरका रूपमा लिएको जनाइएको छ । कार्यक्रममा सहभागी अधिकांश बालबालिका लामो समयदेखि मानसिक तनाव, हीनताबोध र नैराश्यसँग जुधिरहेको अवस्थालाई ध्यानमा राख्दै बिहानको पहिलो सत्र योग, ध्यान र प्राणायामका विभिन्न अभ्यासमा केन्द्रित गरिएको थियो । सामूहिक रूपमा शान्त वातावरणमा पहिलो पटक यस्ता अभ्यास गर्न पाउँदा उनीहरू उत्साहित देखिएका थिए ।
कार्यक्रमका क्रममा केही बालकहरूले गीत र कविता प्रस्तुत गर्दै आफ्ना भावना र अनुभूति पनि अभिव्यक्त गरेका थिए । यसले कला, अध्यात्म र आत्मअभिव्यक्तिले मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन सक्ने सम्भावना थप उजागर गरेको सहभागीहरूले बताएका छन् ।
योग अभ्यासपछि सञ्चालन गरिएको कानूनी साक्षरता कार्यक्रममा अधिवक्ता गौतमले बालन्याय प्रणालीको सुधारात्मक अवधारणा, बालबालिकाका कानूनी अधिकार, अदालती प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था, बालन्यायका सिद्धान्त, कार्यान्वयनको अवस्था र विद्यमान चुनौतीबारे जानकारी दिएका थिए । प्रशिक्षणका क्रममा बालकहरूले कानूनी विषयमा गम्भीर र परिपक्व जिज्ञासा राख्दै सुधार आवश्यक देखिएका पक्षसमेत उठाएका थिए ।
छलफलका क्रममा सहभागी बालकहरूले उमेर मिल्दो वा आपसी मञ्जुरीमा भएका शारीरिक सम्बन्धलाई विश्वव्यापी अभ्यास ‘रोमियो जुलियट ल’ अनुसार अपराधको दायरामा राख्न नहुने भन्दै त्यससम्बन्धी कानूनी संशोधनको आवश्यकता औंल्याए । उनीहरूले अन्जानवश वा सामान्य गल्तीमा कठोर सजाय दिनुभन्दा बालबालिकाको सर्वोत्तम हितलाई आधार बनाइने व्यवस्था प्रभावकारी हुनुपर्ने धारणा पनि राखे ।
त्यसैगरी, परिमार्जनको प्रक्रियामा रहेको सजाय घटाउने ऐन छिटो कार्यान्वयनमा ल्याउनुपर्ने, कानूनमा व्यवस्था भएका दिशान्तर (डाइभर्सन), सजाय स्थगन, सजाय छुट तथा प्यारोलका सुविधालाई व्यवहारमै लागू गर्नुपर्ने, आफ्ना मुद्दाको सुनुवाइ हुँदा अदालतमा उपस्थित हुन पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्ने र सुधार गृहभित्र यस्ता ज्ञानमूलक तथा मानसिक रूपमा स्फूर्ति दिने कार्यक्रम नियमित सञ्चालन हुनुपर्ने माग पनि उनीहरूले राखेका थिए ।
कार्यक्रमको समापनमा जयेन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माले योग, ध्यान र प्राणायामले बालबालिकाको मानसिक तथा शारीरिक रूपान्तरणमा सकारात्मक प्रभाव पारेको बताए । उनले भने, ‘बालकहरूको शारीरिक र मानसिक रूपान्तरणका लागि योग ध्यान र प्राणायाम निकै उपयोगी सिद्ध भएको छ। यसले उनीहरूमा सकारात्मक ऊर्जा भरेको छ । सुधार गृहलाई बालमैत्री र सुधारात्मक केन्द्र बनाउन यस्ता रचनात्मक र कानूनी साक्षरताका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आवश्यक छन् ।’
योग प्रशिक्षकसमेत रहेका अधिवक्ता वसन्त गौतमले देशका विभिन्न बाल सुधार गृहबाट समय–समयमा आउने झडप, तनाव र तोडफोडका घटनाबीच जयेन्दु बाल सुधार गृहले सुरु गरेको अभ्यास उदाहरणीय रहेको बताए । उनले भने, ‘बालबालिकालाई केवल चार पर्खालभित्र थुनेर मात्र उनीहरूको मानसिकता र व्यवहारमा परिवर्तन ल्याउन सम्भव छैन । उनीहरूलाई आत्मचिन्तन गराउन योग र ध्यानको मार्गमा लैजानु र उनीहरूको विचलित मनलाई शान्त बनाएर रचनात्मकतातर्फ मोड्नु नै आजको मुख्य आवश्यकता हो ।’
गौतमका अनुसार, सबै सुधार गृहमा नियमित रूपमा योग, ध्यान, खेलकुद र कानूनी साक्षरताका कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गर्न सकिए कानुनको विवादमा परेका बालबालिका सुधार गृहबाट निस्कँदा अपराधी होइन, समाजका लागि दक्ष, जिम्मेवार र मानसिक रूपमा स्वस्थ नागरिकका रूपमा फर्किनेछन् । उनले यो अभ्यास सुधारात्मक न्याय प्रणालीका लागि महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
परम्परागत दण्ड र प्रतिशोधको सोचभन्दा माथि उठेर सुधार गृहलाई वास्तविक अर्थमा रूपान्तरण केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश जयेन्दु बाल सुधार गृहले दिएको यो अभ्यासले देखाएको छ ।
करणी मुद्दामा बालबिज्याईकर्ता बढी
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ता मध्ये सबैभन्दा बढी करणी मुद्दाका रहेको पाइएको छ । बाल सुधार गृह प्रशासन र एडभोकेसी फोरम नेपालको आन्तरिक अभिलेख अध्ययनबाट प्राप्त मुद्दागत तथ्यांकले सुधार गृहमा गम्भीर प्रकृतिका कसूरहरूमा बालकहरूको संलग्नता अत्यधिक रहेको देखाएको छ ।
हाल यस सुधार गृहमा विभिन्न २१ प्रकारका कसुर अन्तर्गत कुल १ सय ५४ वटा मुद्दाहरू दर्ता छन्, जसमा १ सय ७९ जना बालकहरू प्रतिवादीका रूपमा आश्रित रहेका छन् । उमेर समूहका आधारमा वर्गीकरण गर्दा यस सुधार गृहमा हाल १८ वर्षभन्दा माथिका ८० जना र १८ वर्षमुनिका ९९ जना बालविज्याईकर्ताहरू रहेका छन् । कानुनी प्रक्रियाको निरूपणतर्फ हेर्दा कुल संख्यामध्ये ८५ जनाको अदालतबाट फैसला भइसकेको छ भने ९४ जना हाल पुर्पक्षको अवस्थामा रहेका छन् ।
मुद्दागत विवरणलाई नियाल्दा सबैभन्दा ठूलो संख्या जबरजस्ती करणीको देखिन्छ, जसमा ७४ वटा मुद्दा अन्तर्गत ७६ जना बालकहरू प्रतिवादी छन्, जसमध्ये ३४ को फैसला भइसकेको र ४२ जना पुर्पक्षमा छन् । त्यस्तै, कर्तव्य ज्यान सम्बन्धी १६ मुद्दामा २६ जना बालक संलग्न छन्, जसमा १३ को फैसला भइसकेको र १३ जना पुर्पक्षमै छन् ।
लागु औषध सम्बन्धी १३ मुद्दामा १४ जना (८ फैसला, ७ पुर्पक्ष) र सामूहिक जबरजस्ती करणीका ७ मुद्दामा ११ जना (५ फैसला, ६ पुर्पक्ष) बालकहरू रहेका छन् । ज्यान मार्ने उद्योगका ६ मुद्दामा ८ जना बालक र हाडनाता सहितको जबरजस्ती करणीका ६ मुद्दामा ६ जना बालकहरू सुधार गृहमा रहेका छन्, जसमा दुवै कसुरमा समान ३–३ जनाको फैसला भइसकेको छ र ३–३ जना पुर्पक्षको क्रममा छन् ।
चोरी तथा डाँकातर्फ नकबजनी चोरीका ५ मुद्दामा ५ जना (४ फैसला, १ पुर्पक्ष) र डाँका चोरीका ४ मुद्दामा ६ जना (४ फैसला, २ पुर्पक्ष) बालकहरू रहेका छन् । यसैगरी सवारी ज्यान सम्बन्धी ४ मुद्दामा ४ जना प्रतिवादी छन् भने अप्राकृतिक मैथुनका ३ मुद्दामा ३ जना र जबरजस्ती करणी उद्योगका ३ मुद्दामा ३ जना बालकहरू आबद्ध छन् ।
गम्भीर प्रकृतिका अन्य मिश्रित कसुरहरू जस्तै जबरजस्ती करणी र कर्तव्य ज्यान जोडिएका ३ मुद्दामा ६ जना बालकहरू छन्, जसमा १ को फैसला र ५ जना पुर्पक्षमा रहेका छन् ।
यसका साथै कर्तव्य ज्यान र डाँका चोरीका २ मुद्दामा २ जना, अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको १ मुद्दामा १ जना, जबरजस्ती करणी र विद्युतीय कारोबार सम्बन्धी १ मुद्दामा १ जना, कर्तव्य ज्यान र जबरजस्ती करणी उद्योगको १ मुद्दामा १ जना, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको १ मुद्दामा १ जना, र अपराधी उपद्र सम्बन्धी १ मुद्दामा १ जना बालक गरी अन्य विविध गम्भीर कसुरहरूमा बालकहरू कानूनी प्रक्रिया झेलिरहेका छन् ।
जेनजी आन्दोलनका क्रममा भागेका १ सय १५ जना मध्ये अन्य फिर्ता आई हालसम्म पनि ४७ जना कानूनी बिवादमा परेका अझै फरार रहेका छन् । जयेन्दु बाल सुधार गृहको क्षमता १ सय २० जनामा १ सय ७९ कानूनी बिवादमा परेका बालकहहरू रहेका छन् ।






























