जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिमाथि कारबाही तीव्र बनाएको छ । साउन महिनामा मात्रै प्रहरीले ८० जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट तोकिएको ४५ वर्ष ३ महिना २३ दिन कैद कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको छ । त्यस्तै उनीहरूबाट अदालतको फैसलाअनुसार बिगो तथा क्षतिपूर्तिबापत ४ करोड ७१ लाख ३ हजार ५११ रूपैयाँ असुलउपर गर्नुपर्ने देखिएको छ ।
अदालतबाट फैसला भइसकेपछि पनि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानअन्तर्गत उनीहरूलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका तर फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिहरूको विवरणका आधारमा खोजी तथा निगरानी बढाइएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन महिनाको अवधिमा पक्राउ परेका ८० जनालाई सम्बन्धित अदालतको फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ ।






























