नेपाल प्रेस युनियन बाँकेले वरिष्ठ पत्रकार हरिहर विरहीसहित पाँच पत्रकारलाई आज पुरस्कृत गरेको छ । नेपाल प्रेस युनियनको १३औँ जिल्ला अधिवेशनमा उहाँहरूलाई नेपालगन्जमा पुरस्कृत गरिएको हो ।
वरिष्ठ पत्रकार विरहीलाई प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार र स्वर्गीय सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समिरजङ्ग शाहलाई रु २५ हजार नगद र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।
त्यसैगरी, नेपाल प्रेस युनियन बाँकेले स्वर्गीय जगन्नाथ गौडेल पत्रकारिता पुरस्कारबाट पत्रकार नवीन गिरी, प्रेस युनियन क्रियाशिलता पत्रकारिता पुरस्कारबाट टेकेन्द्र बस्याल, प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कार लीला चौधरी, शतक रक्तदाता पुरस्कार पवन यादवलाई प्रदान गरिएको थियो । उहाँहरूलाई रु पाँच हजार नगदसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।
सो अवसरमा वरिष्ठ पत्रकार विरहीले ठूलो सङ्घर्षका कारण लोकतन्त्रका लागि पत्रकारहरूले पाएको स्वतन्त्रताको सदुपयोग भन्दा दुरूपयोग बढी भएको उल्लेख गर्दै कतिपय ठाउँमा पत्रकारहरू चुकेको बताउनुभयो । उहाँले प्रविधिमा भएको सहज पहुँचले सदुपयोगभन्दा दुरूपयोग भएका कारण पत्रकारहरूले अनपेक्षित रूपमा सजाय भोग्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।






























