नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि शनिबार भएको मतदानमा उत्साही उम्मेदवार बीच मतदाताको उपस्थिति भने निराशाजनक देखियो । विहान ८ बजेदेखि ५ बजेसम्म भएको मतदानमा कुल व्यवसायी मतदाता मध्ये ४७.८३ प्रतिशत मात्रै मतदान गरेका छन् । करिब ५३ प्रतिशत व्यवसायी मतदाता मतदान गर्न नै गएनन् ।
संघका महासचिव भीम बहादुर रानाभाटका अनुसार नेपालगन्ज उद्योग वाणिज्य संघमा कुल ३ हजार ८ सय ६३ मतदाता रहेका थिए । जसमध्ये १ हजार ८ सय ४७ मत मात्रै खसेको छ । उक्त मतदान प्रतिशत संघमा निर्वाचन हुन सुरु भएदेखिकै सबैभन्दा कम भएको संघ सम्बद्ध अगुवाहरू बताउँछन् । यद्यपि, मतदान कम हुनुमा संघ सम्बद्धहरूको आ–आफ्नै तर्क रहेको छ । कसैले वर्तमान संघको कार्यसमितिको कार्यशैलीले मतदाता व्यवसायीमा निराशा रहेको बताएका छन् त कसैले संघमा राजनीति बढ्दै जानुको कारण त कसैले आर्थिक पारदर्शिता अभाव र पछिल्लो समय निर्वाचन तथा सदस्यता सम्बन्धी विवाद अदालत पुग्नु रहेको बताएका छन् । कतिपयले शनिबार विहानदेखि मध्यान्हसम्म परेको झरी पनि मतदान कम हुनुको कारण उल्लेख गरेका छन् ।
शनिबार विहान झरी परेपनि मध्यान्हपछि मौसम सफा रहेको थियो । ‘संघमा कोहलपुर बाहेक अन्य सबै पालिकाका मतदाताहरू रहेका छन्, मतदान स्थल भेरी प्राविधिक शिक्षालय टाढा हुँदा पनि मतदाना नआएका हुनसक्छन्’, एक उम्मेदवारले दैनिक नेपालगन्ज भने, ‘पूर्व अध्यक्षहरूको प्रयासमा सर्वसम्मत रूपमा संयुक्त प्यानलको उम्मेदवार अगाडि सारिएको, उक्त प्यानलका दुई उपाध्यक्ष सहित ६ जना निर्विरोध विजयी भैसकेकाले निर्वाचन औपचारिकता मात्रै हुनसक्ने सम्झेर व्यवसायी मतदान स्थल नपुगेका हुनसक्छन् ।’ मतदान स्थानमा संयुक्त साझा प्यानल र स्वतन्त्र व्यवसायी समूहले आ–आफ्नो प्यानलका उम्मेदवारहरूको सूचि मतदातालाई मत दिन माग गर्दै वितरण गरेका थिए । यद्यपि, संयुक्त साझा प्यानलले यसअघि सार्वजनिक उम्मेदवार भन्दा फरक उम्मेदवार समेटेर समेत उम्मेदवार सूचि वितरण भैरहेको भेटिएपनि रोकतोक गरिएको देखिदैनथ्यो ।
संघका पूर्व अध्यक्षहरू मध्ये अधिकांसले मतदान कम हुनुमा चिन्ता व्यक्त गरेका छन् । यद्यपि, उनीहरूले मतदान कम हुनुको कारण फरक फरक व्यक्त गरे ।
संघका पूर्व अध्यक्ष सतिश चन्द्र अग्रवालले संघको मतदाता सूचिमै त्रुटि रहेको औंल्याए । उनले एउटै फर्मको नाम मतदाता सूचिमा दुई÷तीन ठाउँमा हुनु, स्वर्गीय व्यक्तिको नाम मतदाता सूचिमा समेटिनु लगायतका त्रुटि मतदाता सूचिमा रहेको बताए । ‘मतदान कम हुनुमा संघ प्रतिको वितृष्णा प्रमुख कारण हो’, उनले भने, ‘मेलाको हिसाब सार्वजनिक नहुनु, व्यवसायीलाई समस्या पर्दा संघको उपस्थिति नहुनुको परिणामले पनि मतदान कम भएको हो ।’ उनले अब आउने कार्यसमितिले सदस्यता तथा हरहिसाब सम्बन्धी पारदर्शिता कायम गर्नुपर्ने बताए ।
संघका अर्का पूर्व अध्यक्ष सुनिल कुमार शर्माले पनि यति तल्लो स्तरमा मतप्रतिशत निर्वाचन सुरु भएदेखि हालसम्म नभएको बताए । ‘मतदान भएको वि.सं. २०५३ सालदेखि गत निर्वाचनसम्म यति कम प्रतिशत मत खसेको थिएन’, दैनिक नेपालगन्जसँग पूर्व अध्यक्ष शर्माले भने, ‘यसको कारण संघको विगतको क्रियाकलापले गर्दा व्यवसायीको सिर्जना भएको निराशा हो।’ ‘संघको मर्यादा घट्दै गएको छ, संघको अध्यक्ष मञ्चमा मात्रै देखिने, कार्यसमिति व्यवसायिक मुद्दा र हितमा नलाग्नुले गर्दा व्यवसायी मतदाता मतदान गर्न नगएको सहज अनुमान लगाउन सकिन्छ’, उनले भने । पूर्व अध्यक्ष शर्माले प्रत्येक अध्यक्षहरूले मेला, महोत्सव आयोजना गर्ने र त्यसको हिसाबकिताब सार्वजनिक गर्दै आएपनि अहिलेको कार्यसमितिले त्यसो नगर्दा पारदर्शितमा उठेको प्रश्नले व्यवसायी रुष्ट भएको हुनसक्ने बताए । ‘त्यही कार्यसमितिका धेरै व्यक्ति अहिले उम्मेदवार हुँदा मतदानमा व्यवसायीले बेवास्ता गरेका हुनसक्छन्’, उनले भने ।
संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले प्रतिस्पर्धी तगडा नहुँदा पनि मतदान गर्न मतदाता नपुगेको हुनसक्ने आंैल्याए । ‘पूर्व अध्यक्षहरूले सर्वसम्मत प्रयास गर्दागर्दै केही व्यक्तिले अस्वीकार गरेर उम्मेदवारी दिंदा निर्वाचनमा जानु पर्यो’, उनले भने, ‘मतदानमा जानु नपरेको भए संघको गरिमा अझै उच्च हुन्थ्यो ।’ यद्यपि, पूर्व अध्यक्ष वैश्यले संघ प्रति आकर्षण घटेको स्वीकार गर्दै त्यसको कारण पछिल्लो विवाद, मुद्दा मामिला भएको बताए । उनले मौसम प्रतिकुल हुँदा पनि भएको मतदानको संख्या राम्रो नै भएको धारणा राखे । ‘संयुक्त प्यानलले खसेको ७० प्रतिशत मत पाउँछ, गुटबन्दी सकिन्छ र क वर्गको उद्योग वाणिज्य संघको गरिमा बढ्छ भन्ने मेरो विश्वास छ’, उनले भने ।
संघका अर्का पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले पानी पर्दा नेपालगन्ज बाहिरका मतदाता मतदान गर्न आउन नसकेको, नेपालगन्ज क्षेत्रकै पनि मतदाता मतदान गर्न नआउँदा मत कम खसेको उल्लेख गर्दै दैनिक नेपालगन्जसँग भने, ‘संघको आकर्षण घटेको छैन ।’
अर्का पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पनि मौसमी प्रतिकुलता नै मतदान कम हुनुको प्रमुख कारण भएको बताए । उनले झरीका कारण नेपालगन्ज बजार क्षेत्रकै मतदाता पनि मत खसाल्न नआएको बताए ।
‘विगतको तुलनामा पछिल्लो कार्यकालमा केही विवाद देखियो, केही कमजोरी भए होलान्, अब आउने कार्यसमितिले संघको गरिमा उच्च बनाउन काम गर्नेछ’, उनले भने, ‘संघलाई राजनीतिबाट टाढा राख्नु नै उपयुक्त हुन्छ, संघको कार्यसमिति कम्तिमा आफ्नो कार्यकाल भरी राजनीतिक गतिविधिमा लाग्नु हुँदैन ।’






























