स्मृतिशेष
नरेन्द्रजंग पिटर
बाँकेले १५ दिनकै बीचमा दुई जना कम्युनिष्ट नेता गुमायो, असोज २० गते अशोक रोकाय (संकल्प) र त्यसको १५ दिनपछि अर्थात् कात्तिक ४ गते बाबुराम गौतमको निधन भयो । स्मृतिशेष दुवै नेताले समाज र राजनीतिमा गहिरो छाप छोडेर गएका छन् । समग्र जीवनको समीक्षा नै मृत्यु हो ।
रोकाय रुकुमबाट बसाइँ सराई गरेर महादेवपुरी, ढकेरीमा बसोबास गर्न थालेका थिए भने गौतम गुल्मीबाट बाँकेको सीतापुरमा आएका थिए । रोचक कुरा के छ भने, यी दुवैको राजनीतिक विकास शिक्षक पेशाबाटै भएको थियो । गौतमले त बनारसमा कमरेड पुष्पलालबाटै पार्टीको सदस्यता ग्रहण गरेका थिए ।
अशोक रोकाय ’सङ्कल्प’ संविधान सभा सदस्य रोकाय पेशाले शिक्षक र कर्मले प्रगतीशील किसान थिए । उनको राजनीतिक यात्रा नेकपा (माक्र्सवादी) बाट सुरु हुँदै पछि नेकपा (एकता केन्द्र)मा सक्रिय भयो । संयुक्त जनमोर्चाको तर्फबाट उनी महादेवपुरी गाउँ विकास समितिको अध्यक्षका प्रत्यासी, २०५२ सालदेखि नै जनयुद्धमा सपरिवार होमिए र जीवनको अन्तिम क्षणसम्म निष्ठापूर्वक पार्टीमा सक्रिय रहे । माओवादी, एमाले लगायतका धेरै नेताहरूका छोराछोरी पढाइको सिलसिलामा भारततिरै बसिरहेका बेला, बम्बईमा स्थापित भइसकेका आफ्ना सन्तानलाई देश फर्काएर जनयुद्धको आन्दोलनमा लामबद्ध गराउने सम्भवतः कमरेड सङ्कल्प एकमात्र यस्ता बुबा हुन् । युद्धका क्रममा उनका दुवै छोराहरूले सहादत प्राप्त गरे; उनको सिङ्गो परिवार नै जनयुद्धमा होमिएको थियो ।
बाबुराम गौतम २० को दशक नेपाली कम्युनिष्ट पार्टीका लागि टुटफुट र गठन–पुनर्गठनको कालखण्ड थियो । २०१९ सालको दरभंगा प्लेनमपश्चात् पार्टीमा विभाजन तीव्र भयो । रुस र चीनको अन्तर्राष्ट्रिय विवादको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा पनि पर्यो । विभाजन र पुनर्गठनको क्रमबाट गुज्रनुपरे पनि त्यसबेला फुटलाई वैचारिक आधार दिने प्रयास गरिन्थ्यो । त्यसैबेला बनारस अध्ययनमा पुगेका गौतमले पुष्पलालबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । डा. केशरजंग रायमाझीले रुसको पक्ष लिइसकेका थिए भने पुष्पलाल र तुलसीलालबीचको मतभेदले २०२२ सालतिर पार्टीलाई थप विभाजनतर्फ धकेल्यो । तुलसीलालले ‘कुन बाटो ?’ र पुष्पलालले ‘मूल बाटो’ लेखेर फुटको औचित्य साबित गर्दै गरेका बेला विद्यार्थी गौतम पुष्पलालसँग जोडिएका थिए ।
अध्ययनपश्चात् उनी गुल्मी नफर्किएर सुर्खेतको सिम्तालाई कार्यक्षेत्र बनाएर कम्युनिष्ट आन्दोलनमा भूमिगत रूपमा सक्रिय भए । २०२८ सालमा बाँकेको सीतापुरमा बसाइँ सरे । बाँके आइपुग्दा शिक्षकबाट आयुर्वेदाचार्य बनेका गौतम भूमिगत रूपमा पुष्पलाल समूहमा सक्रिय रहे । पुष्पलाल समूहको नेतृत्व पिएलको निधनपछि साहना प्रधानले गर्न थालिन् । पछि मनमोहन अधिकारीसँग पुष्पलाल समूहको एकता भएर ‘नेकपा (माक्र्सवादी)’ बनेपछि गौतमको सक्रियता माक्र्सवादीमै रहने नै भयो । बाँकेको दोस्रो चरणको नेतृत्वमा सत्यदेव भट्टराई, मधु गुरु, बाबुराम गौतम र नन्दलाल रोकायहरू पहिलो पङ्क्तिमा पर्छन् । गौतमको मुख्य भूमिका पार्टीको आन्तरिक व्यवस्थापनमा केन्द्रित थियो । ३० को दशकमा लुम्बिनी किसान संघर्षबाट भूमिगत भई बाँके आएका नेता–कार्यकर्ताको व्यवस्थापन र ३६ सालको सुर्खेत किसान संघर्षका कार्यकर्ताको व्यवस्थापन माक्र्सवादी पार्टीले गरेको थियो ।
मनमोहन अधिकारीको बाँके सेल्टर प्रायः गौतमकै घरमा हुने गर्दथ्यो । कम्युनिष्ट आन्दोलनमा वर्गसंघर्षलाई छापामार स्तरमा उठाउने पहलमा बाबुराम गौतमको अग्रसरता थियो । उनले हतियार किन्नका लागि आर्थिक व्यवस्थापन गरेका थिए । ड्रेसबद्ध छापामारको प्रशिक्षण र नेतृत्व रन्जित गुरुङले गरेको गौतमले स्वयम् लेखकसँग बताएका थिए । त्यस्तै, हतियारहरूको सुरक्षा कसरी गरिन्थ्यो भन्ने बारेमा गौतमकी श्रीमती महेश्वरी गौतमले लेखकसँग खुलाएकी थिइन् । लुम्बिनी प्रदेशका पूर्व सभासद गौतम पार्टीका केन्द्रीय सल्लाहकार समेत हुन् ।
उहाँहरूलाई किन सम्झने ? मृत्यु सार्वभौम सत्य हो र यो नै जीवनको अन्तिम समीक्षा हो । केही ब्यक्तित्वको जीवन कतिलाई प्रेरक बन्छ भने कतिपयलाई चुनौति बन्छ । पात्रले जीवन कसरी बितायो ? प्रतिकूलतामा उसले बनाएको जीवन परिचय अनुकुलतामा निरन्तरता दिन सक्यो कि सकेन ? भन्ने प्रश्न आज महत्वपूर्ण बनेको छ । यो समय नायकहरूको पतन भइरहेको समय हो, त्यसैले सबैले जीवनका यथार्थ बकपत्र दिनुपर्छ । ’भन्ने, गर्ने, देखिने र हुने’ बीचको अन्तरद्वन्द्वमा रहेका व्यक्तिहरूका बीच यी स्मृतिशेष व्यक्तित्वहरूले विचार र जीवनबीच कसरी तालमेल मिलाए ? आफ्नो परिचयसँग जोडिएका प्रसंगहरूमा राजनीतिलाई संस्कृतिकीकरण गर्न सके कि सकेनन ? विचारको अन्त भयो भन्दै सिद्धान्त, संस्कृति र इतिहासलाई चर्चाहीन बनाउने समयमा के आज उहाँहरूको जीवन–चरित्रलाई पछ्याउन आवश्यक छ ? यो आजको गम्भीर चर्चा र बहसको विषय हो ।





























