बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकस्थित नेपालगन्ज–कोहलपुर सडकखण्डमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा ११ जना सवारी चालक तथा सहचालकमा लागुऔषध सेवन गरेको पुष्टि भएको छ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा सार्वजनिक सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण गरिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा २५ वटा सार्वजनिक सवारीसाधनका चालक तथा सहचालकको ड्रग टेस्ट किटमार्फत प्राविधिक टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा ११ जनाको नतिजा पोजेटिभ आएपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता परीक्षण अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।






























