बालविवाह तथा हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि बाँकेको मधुवन नगरपालिकामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भूमिकाबारे अन्तरक्रिया गरिएको छ ।
सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा आयोजित कार्यक्रममा बालविवाह रोकथाम तथा न्यूनीकरणमा स्वास्थ्य क्षेत्रको भूमिका र संस्थागत सहकार्यका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा नगर उपप्रमुखसहित स्वास्थ्य, शिक्षा, प्रशासन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि, मधुवन नगरपालिका अस्पतालका प्रतिनिधि तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुख गरी १८ जना सरोकारवालाको सहभागिता थियो । अन्तरक्रियामा बालविवाह तथा हानिकारक परम्परागत अभ्यास न्यूनीकरणका लागि अनुभव आदानप्रदान गर्दै साझा प्रतिबद्धता निर्माणमा जोड दिइएको थियो ।
मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले बाँके युनेस्को क्लबले समुदायस्तरमा सञ्चालन गर्दै आएका बाल संरक्षणसम्बन्धी गतिविधिको प्रशंसा गरिन् । उनले बालविवाह रोकथाम र जनचेतना अभिवृद्धिमा संस्थाले पु¥याएको योगदान सकारात्मक रहेको बताइन् । किशोरकिशोरी तथा भावनात्मक र मनोसामाजिक चुनौती सामना गरिरहेका व्यक्तिलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउन नगरपालिकाले मनोवैज्ञानिक परामर्श सेवा स्थापना गर्ने योजना बनाएको उनले जानकारी दिइन् ।
शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले बालविवाह अन्त्यका लागि नगरपालिकाका विभिन्न शाखा, गैरसरकारी संस्था र समुदायमा आधारित क्लबबीच प्रभावकारी समन्वय तथा सामूहिक प्रयास आवश्यक रहेको बताए ।
स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेले स्वास्थ्य संस्थाका प्रतिनिधिलाई समुदायस्तरमा सञ्चालन हुने जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन् । किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य संस्थामा आउने किशोरकिशोरीप्रति सम्मानजनक र संवेदनशील व्यवहार तथा तथ्यांक र अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिइन् ।
अन्तरक्रियाको अन्त्यमा बालविवाहमुक्त समुदाय निर्माणका लागि नियमित अनुगमन गर्ने, बालविवाहका घटनाको समयमै पहिचान गरी जानकारी गराउने, परामर्श सेवालाई सुदृढ बनाउने तथा स्वास्थ्य संस्थाको सीमाभन्दा बाहिर पुगेर परिवार र समुदायस्तरमा संयुक्त जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबअन्तर्गत सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले गरेका थिए । संरक्षण अधिकृत विजय शर्माले सहयोग गरेको कार्यक्रममा फिल्ड सुपरभाइजर मिनु थारु र दीक्षा बिष्टले व्यवस्थापन तथा समन्वय गरेका थिए ।






























