नेपालगन्ज उद्योग वाणिज्य संघको टोली पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको नेपालगन्जको औद्योगिक तथा व्यवसायिक समस्यालाई लिएर काठमाडौं पुगेको छ ।
काठमाडौं पुगेको संघको टोलीले दुई दिनमा विभिन्न मन्त्रालय तथा सम्बद्ध मन्त्रीहरूलाई भेटेर उद्योगी, व्यवसायीले भोगिरहेको समस्या तथा खुला नाका र नेपालगन्ज भन्सारमा सुधार हुनुपर्ने विषयका बारेमा ध्यानाकर्षण गराएका छन् ।
संघका महासचिव भीम बहादुर रानाभाटले मंगलबार संघ अध्यक्ष टंक धामीको नेतृत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलारम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेर विभिन्न समस्या राख्दै समाधानको माग गरेको जानकारी दिए ।
संघको टोलीले उद्योगी, व्यवसायीका समस्या सँगै नेपालगन्ज भन्सार कार्यालयमा बिग्रेर थन्किएको स्क्यानर मेसिन मर्मत गरी सञ्चालन तथा भारतबाट प्रवेश गर्नेहरूलाई भारत तर्फ जस्तै चेकजाँच हुनुपर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
बुधबार महासचिव रानाभाटको नेतृत्वमा संघको टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसँग पनि भेटघाट र छलफल गरेको छ । संघका कार्यसमिति सदस्य बिष्णु श्रेष्ठ, सन्तोष पौडेल र सुदन केसी समेत सहभागी टोलीले सीमापारीको व्यवसाय फष्टाउने र नेपाली बजार सुक्दै गएको कारण र नेपाली व्यवसाय फष्टाउनका लागि सरकारले चाल्नुपर्ने कदमहरू लगायतका विषयमा ज्ञापनपत्र बुझाएको थियो ।
‘मन्त्रीज्यूहरूबाट हामीले समस्या सम्बोधन गर्ने आश्वासन पाएका छौं’, महासचिव रानाभाटले भने ।