सनविम मावि धम्बोझीका विद्यार्थीहरूले शुक्रबार आफ्नो विज्ञान तथा कला प्रदर्शनी गरेका छन् । विद्यालयको आयोजनामा विद्यार्थीहरूले आफ्ना सिर्जनालाई अभिभावकहरू माझ प्रदर्शनी गरेका हुन् ।
प्रत्येक कक्षाका विद्यार्थीहरूले आफ्नो सिर्जनशील क्षमतालाई अभिभावकहरू माझ प्रदर्शन गरेको विद्यालयले जनाएको छ । विज्ञान तथा कला प्रदर्शनी उद्घाटनमा विद्यालयका अध्यक्ष इश्वर पोखरेलले विद्यार्थीहरूलाई पाठ्यक्रम मात्रै रटाएर उनीहरूको अपेक्षित प्रगति नगर्ने हुँदा सिर्जनशील क्षमताको विकासका लागि विज्ञान तथा कलाको क्षेत्रमा यसखालका प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रदर्शनीमा साहित्य, कला तथा शिक्षा क्षेत्रका विभिन्न अतिथिहरुले विद्यार्थीका सिर्जनशीलता अवलोकन गरी उनीहरुलाई प्रोत्साहित गरेका थिए ।
‘यो खालको आयोजनालाई विद्यालयले प्राथमिकताका साथ गर्दै आएको छ’, सनविमका अध्यक्ष पोखरेलले कार्यक्रममा भने, ‘यसले विद्यार्थीहरुमा उत्साहजनक बौद्धिक विकास गरेको छ ।’
