जानकी गाउँपालिकाले आगामी आ.व.मा छोरा सम्झाउ कार्यक्रम लागु गर्ने भएको छ । जानकी गाउँपालिका बाँकेको आइतबार सुरु भएको १८औं गाउँसभामा अध्यक्षको नीति तथा कार्यक्रममा छोरी बचाउ होइन, छोरा सम्झाउ कार्यक्रम लागु गर्ने उल्लेख छ । महिला हिंसाविरुद्धका घटना न्यूनीकरण गर्ने उद्देश्यले छोरा बचाउ कार्यक्रम प्रभावकारी हुनसक्ने विश्वास व्यक्त गरिएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष एवम् सभा अध्यक्ष छ्ब्बन खाँको आदेशानुसार प्रवक्ता टिकानाथ यादवले २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न महत्वाकांक्षी र लोकप्रिय कार्यक्रमहरू सार्वजनिक गरेका थिए । कृषि, पशु, शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा कृषि तर्फ वास्तविक कृषि प्रोफाइल तयार गर्ने, पालिका अध्यक्ष सँग किसान भेटघाट कार्यक्रम सञ्चालन गर्ने, खाद्य वासलात पत्ता लगाइ भावि वासलात तयार गर्ने लगायतका कार्यक्रमलाई नीतिमा जानकी गाउँपालिकाले प्राथमिकता दिएको छ ।
²स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारः जानकी गाउँपालिकाको समृद्धिको आधार’ भन्ने नाराका साथ गाउँसभा सुरु भएको गाउँसभामा प्रस्तुत नीतिमा युवा स्वरोजगार कार्यक्रम गर्ने, कृषक अनुदान कार्यक्रम संचालन गर्ने, स्थानीय उत्पादनहरूको बजारीकरण गर्ने, पशु अस्पताल बनाउने, पशुहरूलाई निःशुल्क खोप लगाउने विषयमा जोड दिइएको छ ।
यस्तै अति विपन्नलाई उद्यमशिलताका लागि विशेष कार्यक्रम संचालन गर्ने, वेरोजगारीको तथ्यांक अद्यावधिक र विश्लेषण गर्ने, रोजगारी सिर्जनामा जोड दिने, सहकारीको नियमन र व्यवस्थापन गर्ने, परम्परागत संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने, नमुना पार्क बनाउने, सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर विस्तार गर्ने, १५ शैयाको अस्पताल छिटो भन्दा छिटो संचालन गर्ने, सुत्केरीलाई उपाध्यक्ष कोशेली प्याकेज दिने, नसर्ने रोगको पहिचान गर्न ४० वर्ष माथिका सबैको स्वास्थ्य परीक्षण शिविर संचालन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।
गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि पालिकाले बनाएको पञ्च वर्षीय नीतिलाई कार्यान्वयनमा जोड दिने, विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयसम्म ल्याउन र टिकाउन काम गर्ने, जग्गा नभएका र वडा कार्यालय नभएका वडामा जग्गा खरिद र कार्यालय निर्माण गर्ने, मूल सडकसंग जोडिने सहायक सडकहरूको स्तरोन्नति गर्ने, योगा हल निर्माण गर्ने, वृक्षारोपण गर्ने नीति अवलम्बन गर्ने, अनिवार्यरूपमा सम्पत्ति कर लागू गर्ने विषयलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को अनुमानित बजेट भने असार ९ गते सोमबार बस्ने गाउँसभाको अर्को वैठकमा पेश गरिने गाउँपालिका उपाध्यक्ष एवम् सभा उपाध्यक्ष रामप्यारी यादवले बताइन् । गाउँसभाको संचालन प्रमुख प्रशासकीय अधिकृत एवम् सभाका सदस्य सचिव नर बहादुर विकले गरेका थिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि सभामा वडा सदस्य वडा नं. ३ का हुसेनी अहिर र वडा नं. २ का अमर बहादुर थापाले बजेट ल्याउने तर कार्यान्वयन नहुने, कृषकले दुःख पाइरहेको, बजेटमा भेदभाव गरिएको बताएका थिए ।
उनीहरूको विषय सम्बोधन गर्दै पालिका अध्यक्ष खाँले विकासका काम भैरहेको र उठेका विषय सम्बोधन गर्ने बताएका थिए ।