रासायनिक मल नपाएपछि बाँकेका किसानहरु आन्दोलित भएका छन् । उनीहरुले रासायनिक मल नपाएको भन्दै स्थानीय तहमा धर्ना दिन थालेका छन् ।
आन्दोलित किसानहरुले गैरकिसानलाई रासायनिक मल वितरण गरेको समेत आरोप लगाउँदै आएका छन् ।
आइतबार नेपालगन्ज उपमहानगरपालिकाका किसानहरुले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
त्यसअघि नरैनापुरमा किसानलाई आउने मलखाद गैरकिसानलाई वितरण भएको आरोप लागेको छ । त्यसबाट किसान आक्रोशित भएका छन् ।
नरैनापुर गाउँपालिका–५ मा रहेको राप्ती कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष शालिकराम साहूले किसानलाई आउने मलखाद गैरकिसानलाई वितरण गरेको आरोप लागेको हो ।
किसानहरूले साहूले मिलेमतोमा मलखाद गैरकिसानलाई वितरण गरेको बताएका छन् । उनीहरुले मलको अनियमित कारोबारको आशंका पनि गरेका हुन् ।
मलखादका लागि धेरै समयदेखि प्रतिक्षा गरिरहेका किसानले सहकारीमा मल नपाएपछि सोधपुछ गर्दा मल अन्य व्यक्तिले लगिसकेको जानकारी पाएका थिए । मलखाद वितरणमा अनियमितता भएको भन्दै किसानहरूले सहकारीका अध्यक्ष साहूमाथि आक्रोश व्यक्त गरेका छन् ।
तीन दिनदेखि व्यापारीले कुपन बाडिरहेको आरोप किासनको छ । ‘किसानले नपाउने व्यापारीले सस्तोमा लिएर तीन÷तीन हजारमा प्रतिबोरा मल वितरण भइरहेको छ,’ मलको अबैध कारोबार भइरहेको आरोप लगाउँदै किसानले भने । १ हजार ९९ रुपिया प्रतिबोराको सहुलियत मल दोब्बर तेब्बर मुल्यमा बेचबिखन गरिएको आरोप उनीहरुको छ ।
यस विषयमा सहकारीका अध्यक्ष साहूले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । मलखादको अभावमा खेतीपाती प्रभावित हुने भन्दै किसानहरूले तत्काल यस विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।