स्थायी समाधानका लागि नगरप्रमुखलाई ज्ञापन
बाँके जिल्लाका रैथाने कुम्हार (प्रजापति) समुदायले वर्षौंदेखि व्यावसायिक रूपमा प्रयोग गर्दै आएको माटो उत्खननमा रोक लागेपछि उनीहरूको परम्परागत पेसा संकटमा परेको छ।
समस्याको स्थायी समाधानको माग गर्दै तराई कुम्हार समाज नेपालको नेतृत्वमा बुझाएको सामूहिक ज्ञापनपत्र बुझ्दै नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले आवश्यक नियम बनाई दीर्घकालीन समाधान गर्ने आश्वासन दिनुभएको छ।
तराई कुम्हार समाज नेपालका मुख्य संरक्षक विष्णुलाल कुम्हारका अनुसार, पूर्वकालदेखि नै नेपालगन्ज र आसपासका ताल, पोखरी तथा खाल्डाखुल्डीबाट निकालिने लसिलो माटोबाट यस क्षेत्रका कुम्हार समुदायले विभिन्न माटाका सामग्रीहरू बनाएर जीविकोपार्जन गर्दै आएका थिए। यहाँको माटोबाट बनेका भाँडाहरू अत्यन्तै बलिया र गुणस्तरीय हुने भएकाले बाँकेमा उत्पादित सामग्रीहरू कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू जुम्ला, हुम्ला, सल्यान र जाजरकोटसम्म निर्यात हुने गरेको थियो।
हाल बाँके जिल्लाका करिब ५० गाउँका १७० देखि १८० घरधुरी पूर्ण वा आंशिक रूपमा यसै माटोको काममा आश्रित छन्। लामो समयदेखि निरन्तर चल्दै आएको यो पुर्ख्यौली पेसा हाल माटो झिक्ने कार्यमा कानुनी वा प्रशासनिक रोक लगाइएका कारण पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको हो।
पेसा नै संकटमा परेपछि कुम्हार समाजका प्रतिनिधि तथा अगुवाहरूको टोलीले सोमबार नगरप्रमुख विष्टलाई भेटेर सामूहिक ज्ञापनपत्र बुझाएको हो।
छलफलका क्रममा नगरप्रमुख विष्टले रैथाने समुदायको पहिचान र रोजगारीसँग जोडिएको यो विषयलाई गम्भीरतापूर्वक लिँदै भविष्यका लागि निश्चित नियम/कार्यविधि बनाई माटोको समस्यालाई स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विगत लामो समयदेखि स्थानीय बजार र पहाडी जिल्लाको माग धान्दै आएको यो परम्परागत उद्योगलाई संरक्षण गर्न स्थानीय सरकारले चाल्ने आगामी कदमलाई कुम्हार समुदायले निकै चासोका साथ हेरेको मुख्य संरक्षक कुम्हारले बताए ।






























