बाँके जिल्ला स्तरीय मेयर कप अन्तरविद्यालय छात्र÷छात्रा (यु–१८) फुटबल प्रतियोगितामा ज्ञानोदय मावि, सम्झना एलिट बैजनाथ, होलिल्याण्ड मावि र ज्ञानज्योति कोहलपुरले अन्तिम आठको यात्रा तय गरेका छन् । मंगलबार भएका चार खेलको नतिजासँगै यी टोलीहरू क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले सञ्चालन गरिरहेको प्रतियोगिताअन्तर्गत दिनको पहिलो खेलमा ज्ञानोदय माविले कृष्ण माविमाथि १–० को कठिन जित निकाल्यो । प्रतिस्पर्धात्मक खेलमा निर्णायक गोल ज्ञानोदयका अभिषेक विकले ४५ औं मिनेटमा गरे । त्यही गोलले टोलीलाई क्वाटरफाइनल पु¥यायो। उत्कृष्ट प्रदर्शन गरेका अभिषेक विक प्लेयर अफ द म्याच घोषित भए। उनलाई एन्फाका फुटबल प्रशिक्षक रविन्द्र श्रेष्ठ र पूर्वखेलाडी अर्जुन थापाले पुरस्कार प्रदान गरे ।
दोस्रो खेलमा सम्झना एलिट बैजनाथले युनाइटेड एजुकेशनललाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । सम्झनाका दीपक साहुले खेलको चौथो र २७ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। दुई गोलका नायक दीपक साहु नै प्लेयर अफ द म्याच बने । उनलाई एन्फा बाँकेका महासचिव कमल खत्री र कोषाध्यक्ष सानु तामाङले पुरस्कृत गरे ।
तेस्रो खेलमा होलिल्याण्ड माविले जीवनज्योति माविविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै ३–० को सहज जित हात पा¥यो । होलिल्याण्डका अनमोल विकले सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि अभिषेक थापाले नवौं र १८ औं मिनेटमा थप दुई गोल गरे । दुई गोल गरेका अभिषेक थापा प्लेयर अफ द म्याच घोषित भए। उनलाई पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापा र क्यान बाँकेका पूर्वअध्यक्ष दुर्गा थापाले सम्मानसहित पुरस्कार प्रदान गरे ।
दिनको सबैभन्दा रोमाञ्चक खेल ज्ञानज्योति कोहलपुर र सिटिजन नमूना बोर्डिङबीच भयो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकर हुँदै सडेन डेथसम्म पुगेको थियो । अन्ततः ज्ञानज्योतिले सडेन डेथमा ६–५ को नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो ।
खेलको पाँचौं मिनेटमै विशाल पाण्डेको गोलबाट सिटिजन नमूना बोर्डिङले अग्रता लिएको थियो । तर, ज्ञानज्योतिका झलनाथ झेडीमगरले ४२ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा ज्ञानज्योतिका झलनाथ झेडीमगर, देवराज विक, सकुशल पौडेल, हिमाल खत्री, मिलन घर्तिमगर र इमरान फौजामगरले सफल प्रहार गरे। सिटिजनका मिथुन खत्री, नम्सु थापामगर, आदित्यकुमार राना, विकास सुनार र प्रिन्स मल्लले गोल गरे पनि प्रज्वल सुनारको प्रहार सफल हुन सकेन। त्यसपछि सडेन डेथमा ज्ञानज्योतिले जित सुनिश्चित गरेको हो ।
निर्णायक भूमिकामा रहेका झलनाथ झेडीमगर प्लेयर अफ द म्याच घोषित भए । उनलाई पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ र सुवेसु नेटका खगेन्द्र शाहीले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा जिल्लाका ३७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ३१ हजार रुपैयाँ र उपविजेताले १६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।




























