एक जना पक्राउ
नेपाल प्रहरीले सल्यान र बझाङबाट नौ थान भरुवा बन्दुक बरामद गरेको छ । बझाङमा एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ भने सल्यानमा सामुदायिक वनको ओडारमा लुकाएर राखिएका आठ थान बन्दुक बरामद गरिएको हो ।
प्रहरीका अनुसार मंगलवार दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखेको अवस्थामा आठ थान भरुवा बन्दुक फेला पारेको थियो । बरामद बन्दुकमध्ये सात थान साबुत र एक थान बेसाबुत रहेका छन् । बरामद गरिएका बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मंगलवारनै बझाङको केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट एक थान एकनाले भरुवा बन्दुकसहित बहादुर धामी पक्राउ परेका छन् । सोही दिन बिहान करिब २ः३० बजे धामीको घर तथा आँगनमा खानतलासी गर्ने क्रममा घरनजिकै रहेको खरको कुन्यूमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
बन्दुकसहित नियन्त्रणमा लिइएका धामीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























