नेपाल पत्रकार महासंघ सुर्खेत शाखाद्वारा आयोजित पुस्तक विमोचन, सम्मान, पुरस्कार वितरण तथा पद हस्तान्तरण कार्यक्रम–२०८३ मा विशिष्ट अतिथिका रूपमा सहभागी भई ‘जुनकिरी’ पत्रिकाको प्रकाशन यात्रा तथा आफ्नो जीवनका केही अनुभवहरू साझा गर्ने अवसर पाउँदा म अत्यन्त हर्षित भएको छु ।
मेरो शिक्षण यात्राको सुरुवात वि.सं. २०२७ सालतिर भयो । मदन भट्ट सरले मेरो स्नातक तहको प्रमाणपत्र शिक्षा मन्त्रालयमा पेस गरी माध्यमिक तहको स्वीकृति गराइदिनुभएपछि भानु माध्यमिक विद्यालयमा अध्यापन गर्ने अवसर प्राप्त भयो । त्यसअघि वि.सं. २०२४ सालदेखि नै विद्यालयमा अध्यापन कार्यमा संलग्न थिएँ । यही क्रममा दत्त सरपछि प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हाल्ने अवसर मिल्यो । अध्यापनसँगै म बनारसमा आचार्य तहको अध्ययनसमेत गरिरहेको थिएँ ।
यसैबीच, वर्षे बिदाका क्रममा बनारस गएको बेला नेपाली छात्र सङ्घ, वाराणसीद्वारा आयोजित १४ अञ्चलका विद्यार्थीहरूको वनभोज कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । कार्यक्रममा विभिन्न अञ्चलका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक तथा साहित्यिक गतिविधिहरू प्रस्तुत गरेका थिए । परिचय दिने क्रममा अधिकांश साथीहरूले कविता, लेख तथा अन्य साहित्यिक सिर्जनाहरू सुनाए । तर भेरी अञ्चलबाट म एक्लो प्रतिनिधि थिएँ र त्यस्तो कुनै सिर्जनात्मक सामग्री प्रस्तुत गर्न सकेको थिइनँ ।
त्यस बेला केही साथीहरूले रमाइलो पाराले ‘एक्लो बाँदरले के गर्न सक्छ र ?’ भन्दै व्यङ्ग्य गरे । त्यो वाक्य मेरो मनमा गहिरो गरी बस्यो । त्यही क्षण मैले एउटा अठोट गरेँ—‘एक्लै भए पनि म एउटा पत्रिका निकाल्नेछु, र एक दिन यी साथीहरूले त्यसलाई सम्झनेछन् ।’
त्यसै समयमा मेरो मनमा एउटा नाम पनि जन्मियो—‘जुनकिरी’। सानो किरो भए पनि अन्धकारमा उज्यालो दिन सक्ने जुनकिरीझैँ, सानो प्रयासले पनि समाजमा चेतना र प्रकाश फैलाउन सक्छ भन्ने विश्वास मेरो मनमा जाग्यो । वनभोजबाट फर्किँदा ‘जुनकिरी’ पत्रिकाको बीउ मेरो मानसपटलमा रोपिइसकेको थियो ।
वि.सं. २०२७ सालमा ‘भेरी छात्र परिवार, वाराणसी’ बाट प्रकाशन भयो । त्यसपछि २०२८ सालको वर्षे बिदामा म र दशेराका तत्कालीन शिक्षक मनोज भण्डारी (मदन भण्डारीका दाजु) मानसरोवर यात्राको योजनासहित निस्कियौँ । तर प्रतिकूल मौसमका कारण यात्रा पूरा हुन सकेन । मनोजजी जुम्लामै बस्नुभयो भने म मेहलतोलीस्थित घर फर्किएँ ।
जुम्लामा रहँदा स्थानीय पञ्चहरूले उहाँलाई नयाँ व्यक्ति देखेर शङ्का गर्दै सोधपुछ तथा खानतलासी गरेछन् । त्यस क्रममा उहाँको झोलामा ‘जुनकिरी’ पत्रिकाका केही प्रति भेटिए । पत्रिकामा प्रकाशित लेख–रचनाहरूलाई पञ्चायत व्यवस्था विरोधी ठहर गर्दै उहाँलाई पञ्चविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरियो ।

त्यस घटनापछि ‘जुनकिरी’ पत्रिकामाथि प्रशासन र पञ्चायत पक्षको निगरानी झन् कडा बन्यो । पत्रिकासँग सम्बन्धित व्यक्तिहरूमाथि शङ्काको दृष्टिले हेरिन थालियो, जसको प्रत्यक्ष प्रभाव ममाथि पनि पर्यो । फलस्वरूप मैले विभिन्न दबाब, निगरानी र प्रतिकूल परिस्थितिहरू सामना गर्नुपर्यो ।
पत्रिकाको सम्पादक भएका कारण मलाई पनि पक्राउ गर्ने आदेश जुम्लाबाट सुर्खेत पुगेको रहेछ । वर्षे बिदापछि २०२८ भदौ २ गते विद्यालयमा हाजिर हुँदा थाहा पाएँ कि तत्कालीन प्रमुख जिल्ला अधिकारी दिनबन्धु पन्त (हास्य कलाकार सन्तोष पन्तका पिता) को निर्देशनमा हवलदारमार्फत पक्राउ पुर्जी आएको रहेछ । विद्यालय व्यवस्थापन समितिले भने मलाई पक्राउ नगरिदिन अनुरोध गर्दै एक पृष्ठको स्पष्टीकरण पत्र पनि पठाएको रहेछ । तर, त्यसबीच पनि मैले अध्यापन कार्यलाई निरन्तरता दिइरहेँ ।
२०२८ सालको दशैँ बिदामा घर जाँदा पुनः ‘जनकराज शर्मा रेग्मीलाई जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा उपस्थित गराउने’ सम्बन्धी अर्को पत्र आएको रहेछ । त्यही समयमा बनारस विश्वविद्यालयबाट पीएचडी अध्ययनका लागि छात्रवृत्तिमा मेरो नाम छनोट भएको तथा अध्ययनका लागि उपस्थित हुन अनुरोध गरिएको आधिकारिक पत्र पनि प्राप्त भएको थियो ।
विद्यालय व्यवस्थापन समितिले मलाई तीन वर्षका लागि पीएचडी अध्ययन बिदामा गएको भनी प्रशासनलाई जानकारी गराइसकेको रहेछ । दशैँ–तिहारपछि विद्यालयमा फर्किएपछि मात्र यी सम्पूर्ण घटनाको जानकारी पाएँ । एकातिर उच्च अध्ययनको सुनौलो अवसर प्राप्त भइरहेको थियो भने अर्कोतर्फ प्रशासनिक दबाब र निगरानीको सामना गर्नुपरेको अवस्था थियो ।
त्यो समय सहज थिएन । प्रशासनले खोजिरहेको छ भन्ने हल्ला चलिरहन्थ्यो । विद्यालयमा कुनै अपरिचित व्यक्ति आए भने म झाडी वा एकान्त स्थानतिर गएर लुक्ने गर्थेँ । प्रमुख जिल्ला अधिकारीले गुप्तचर पठाएर पक्राउ गर्न खोजेको छ भन्ने चर्चा सुनिन्थ्यो । स्थानीय पञ्चहरूले खबर गरेर पक्राउ गराउने प्रयास गरिरहेका छन् भन्ने सूचना पनि आइरहन्थ्यो । यस्ता कठिन परिस्थितिका बीच पनि मैले करिब चार महिनासम्म लुकीछिपी अध्यापन कार्य जारी राखेँ ।
तर, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले यस्तो अवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिन नसकिने सुझाव दिन थाले । विद्यालयले मलाई पीएचडी अध्ययनका लागि बिदामा गएको भनी आधिकारिक जानकारी दिइसकेको अवस्थामा विद्यालयमै कार्यरत रहेको तथ्य बाहिरिए विद्यालय व्यवस्थापन समितिमाथि समेत झुट्टा सूचना दिएको आरोप लाग्न सक्ने चिन्ता थियो ।
अन्ततः विद्यालयमा निरन्तर कार्यरत रहन नसकिने अवस्था सिर्जना भयो । प्रधानाध्यापकको जिम्मेवारी श्री बलभद्र भारतीज्यूलाई हस्तान्तरण गरी वि.सं. २०२४ सालदेखि अध्यापन गर्दै आएको विद्यालयबाट २०२९ सालमा ‘जुनकिरी’ पत्रिका प्रकाशनसँग सम्बन्धित घटनाक्रमका कारण बाध्य भएर राजीनामा दिनुपर्यो ।
राजीनामा स्वीकृत भएपछि केही समय मेहलतोलीस्थित घरमै बसेँ । त्यसपछि पिताजीको सल्लाहअनुसार तराईतर्फ सर्ने निर्णय गरियो । बाँकेको जब्दहवामा हाम्रो केही जग्गा–जमिन भएकाले परिवारसहित त्यहीँ स्थायी बसोबास सुरु गर्यौँ ।
यसै अवधिमा काठमाडौँस्थित वाल्मीकि क्याम्पसमा अध्यापनका लागि साथी टिकाराम अधिकारीलगायतले निमन्त्रणा गर्नुभयो । तर वृद्ध आमा, श्रीमती तथा परिवारका अन्य सदस्यहरूको जिम्मेवारीसँगै तराईमा घर निर्माण र बसोबास व्यवस्थापनमा व्यस्त भएकाले काठमाडौँ जान सकिनँ । त्यसपछि केही वर्ष त्यहीँ बिताएँ । त्यतिबेला खडेरी र सुक्खाका कारण खाद्यान्न अभावको समस्या पनि झेल्नुपर्यो ।
केही समयपछि बाँकेको डिगिहा–जब्दहवास्थित जनता आदर्श विद्यालय, जुन त्यतिबेला प्राथमिक तहमा थियो, माध्यमिक विद्यालयमा स्तरोन्नति भएपछि म त्यही विद्यालयमा अध्यापन कार्यमा संलग्न भएँ ।
यसै क्रममा कालिकोटका तिलक न्यौपानेलाई नेपाली कांग्रेससँग आबद्ध रहेको आरोपमा पञ्चायत पक्षले पक्राउ गर्न खोज्दा उहाँ मेरो घर, जब्दहवामा आश्रय लिन आउनुभयो । मानवीय नाताले उहाँलाई करिब छ महिनासम्म लुकाएर राखेको आरोप लगाइयो । सुर्खेतको पुरानो घटनासमेत जोडेर पञ्चायत पक्षले मलाई पञ्चायती व्यवस्था विरोधी तथा कांग्रेस समर्थकको रूपमा चित्रित गर्यो । परिणामस्वरूप मैले अध्यापन गरिरहेको विद्यालयमा पनि काम गर्न नपाउने अवस्था सिर्जना भयो र विद्यालय छोड्न बाध्य भएँ ।
त्यसपछि तत्कालीन प्रधानाध्यापक विष्णुमान श्रेष्ठज्यूले मलाई जनता माध्यमिक विद्यालय, सन्तकुटी, खजुरा बाँकेमा नियुक्त गर्नुभयो । सोही विद्यालयबाट स्थायी नियुक्ति प्राप्त गरी लामो समयसम्म शिक्षण सेवामा समर्पित रहने अवसर पाएँ ।
वि.सं. २०५४ सालमा पुनः जनता आदर्श माध्यमिक विद्यालय, जब्दहवामा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालय सञ्चालन गर्ने अवसर प्राप्त भयो । अन्ततः वि.सं. २०६४ मंसिर १ गते अनिवार्य अवकाश प्राप्त गरेँ र हाल नेपालगन्ज–१८, कारकाँदो सनातन मार्गस्थित आफ्नै निवासमा जीवनयापन गरिरहेको छु ।
‘जुनकिरी’ पत्रिका प्रकाशनका कारण भानु माध्यमिक विद्यालय छोड्नुपर्दा पेन्सनका लागि आवश्यक सेवा अवधि पूरा हुन सकेन । फलस्वरूप मैले पेन्सन सुविधा प्राप्त गर्न सकिनँ । तथापि, त्यो समयको पञ्चायती व्यवस्थामा स्वतन्त्र विचार अभिव्यक्ति तथा जनचेतनामूलक प्रकाशन गर्न अत्यन्त कठिन हुँदाहुँदै पनि बनारसबाट ‘जुनकिरी’लाई साहित्यिक पत्रिकाका रूपमा प्रकाशन गर्न सफल भएको र भेरी क्षेत्रको इतिहासमै पहिलो पत्रिका प्रकाशन गर्ने अवसर प्राप्त गरेकोमा आफूलाई गौरवान्वित महसुस गर्दछु ।
आज ‘जुनकिरी’को प्रकाशन भएको करिब ५६ वर्षपछि नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले यसको योगदानको उच्च मूल्याङ्कन गर्दै मलाई सम्मान गरेको छ । यो सम्मान केवल मेरो व्यक्तिगत सम्मान होइन; त्यो समयका संघर्षशील लेखक, साहित्यकार, पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सम्पूर्ण व्यक्तिहरूप्रतिको सम्मान हो भन्ने मैले ठानेको छु ।
अन्त्यमा, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माज्यू, नवनिर्वाचित अध्यक्ष मधुवन बी.सी.ज्यू, अनुसन्धाता युवराज शर्माज्यूलगायत सम्पूर्ण पत्रकार मित्रहरू तथा यस सम्मानका लागि योगदान पुर्याउने सबै महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु ।
( उमेरले ८२ औ बसन्तमा विचरण गरिरहेका जनकराज शर्मा रेग्मीले सम्मान ग्रहणका क्रममा व्यक्त गरेको मन्तव्य सार )




























