राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ अनुसार देशभर सरकारी स्वामित्वबाहेकका १० हजार ४११ शिक्षण संस्था सञ्चालनमा रहेका छन् । सर्वेक्षणले निजी, सामुदायिक र गुठीमार्फत सञ्चालित शिक्षण संस्थाले शिक्षा, रोजगारी, पूर्वाधार र राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याएको देखाएको छ ।
सर्वेक्षणअनुसार सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा करिब १९५ अर्ब रूपैयाँ बराबरको कुल उत्पादन गरेका छन् भने करिब १६० अर्ब रूपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि गरेका छन् । यस अवधिमा तलब, ज्याला तथा अन्य सुविधामा करिब ७५ अर्ब रूपैयाँ खर्च भएको र स्थिर पुँजी लगानी करिब ३०९ अर्ब रूपैयाँ पुगेको उल्लेख गरिएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै २७.९ प्रतिशत अर्थात् २ हजार ९०३ शिक्षण संस्था बागमती प्रदेशमा रहेका छन् । त्यसपछि कोशीमा १ हजार ९१७, मधेशमा १ हजार ८९१, लुम्बिनीमा १ हजार ५५६, सुदूरपश्चिममा ९०७, गण्डकीमा ८६२ र कर्णालीमा सबैभन्दा कम ३७५ संस्था सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको छ ।
संस्थाको प्रकृतिअनुसार ४३ प्रतिशत पूर्वप्राथमिक तथा आधारभूत विद्यालय, ४१ प्रतिशत माध्यमिक विद्यालय, १२ प्रतिशत उच्च शिक्षा र करिब ३ प्रतिशत प्राविधिक तथा व्यावसायिक शिक्षण संस्था रहेका छन् ।
स्वामित्वका आधारमा ५२.१ प्रतिशत संस्था प्राइभेट लिमिटेड, २०.८ प्रतिशत व्यक्तिगत, १४.८ प्रतिशत साझेदारी, ७.२ प्रतिशत शैक्षिक गुठी र ५.२ प्रतिशत सामुदायिक स्वामित्वमा सञ्चालनमा रहेका छन् । व्यक्तिगत स्वामित्वका संस्थामध्ये २० प्रतिशतमा मात्र महिलाको स्वामित्व रहेको छ भने व्यवस्थापकीय नेतृत्वमा महिलाको सहभागिता १७.८ प्रतिशत रहेको पाइएको छ ।
रोजगारीतर्फ सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थामा ३ लाख ११ हजार ५१६ जना संलग्न रहेका छन् भने ३ लाख २१ जना तलबभोगी कर्मचारी कार्यरत छन् । तलबभोगीमध्ये ७४ प्रतिशत शिक्षण र २६ प्रतिशत गैरशिक्षण कर्मचारी रहेका छन् । बागमती प्रदेशमा सबैभन्दा धेरै १ लाख १७ हजार २२९ जनाले रोजगारी पाएका छन् ।
विद्यार्थी संख्या ३७ लाख ४१ हजार पुगेको छ । तीमध्ये पूर्वप्राथमिकमा करिब ९ लाख ३२ हजार, आधारभूत तहमा १८ लाख ६४ हजार, माध्यमिक तहमा ४ लाख ९१ हजार, उच्च शिक्षामा ४ लाख ६६ हजार र प्राविधिक तथा व्यावसायिक शिक्षामा ३५ हजार ६८८ विद्यार्थी अध्ययनरत रहेका छन् । उच्च शिक्षामा अध्ययनरतमध्ये करिब ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेशमा केन्द्रित छन् ।
देशभरका यी शिक्षण संस्थामा २८ हजार २३५ भवन, १ लाख ८३ हजार ८४६ कक्षाकोठा र विद्यार्थी ओसारपसारका लागि करिब १६ हजार ३७९ सवारीसाधन रहेका छन् । प्रति संस्था औसत वार्षिक सञ्चालन खर्च १ करोड २२ लाख रूपैयाँ रहेको छ भने औसत मासिक शिक्षण शुल्क करिब ३ हजार ३०० रूपैयाँ रहेको सर्वेक्षणले जनाएको छ । बागमती प्रदेशमा औसत मासिक शुल्क ५ हजार १०० रूपैयाँ र सुदूरपश्चिममा करिब २ हजार रूपैयाँ रहेको छ ।
सर्वेक्षणले ३४.८ प्रतिशत शिक्षण संस्थाले सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत योगदान गरेको देखाएको छ । संस्थाले भोगेका प्रमुख समस्यामा शिक्षा सम्बन्धी कानुन तथा नीतिगत अस्थिरता, आर्थिक समस्या, समयमा शुल्क संकलन हुन नसक्नु, पूर्वाधार अभाव तथा विद्यार्थी भर्ना घट्नु प्रमुख रहेको उल्लेख गरिएको छ । विशेषगरी उच्च शिक्षा र प्राविधिक शिक्षण संस्थाले विद्यार्थी विदेश पलायनलाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख एवं प्रवक्ता ढुण्डिराज लामिछानेले सार्वजनिक गरेको सर्वेक्षणले निजी तथा गैरसरकारी शिक्षण संस्थाको शिक्षा क्षेत्र र राष्ट्रिय अर्थतन्त्रमा रहेको योगदानलाई विस्तृत रूपमा उजागर गरेको छ ।





























