विश्व रनिङ क्षेत्रकै निकै सम्मानित पुरस्कार ‘एम्स सोसल अवार्ड २०२६’ (AIMS Social Award 2026) हात पार्न सफल नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरी शुक्रबार आफ्नो गृह जिल्ला बाँकेको नेपालगन्ज फर्किएका छन्।

अवार्ड ग्रहण गरेर केही दिनको युरोप भ्रमण र काठमाडौं हुँदै नेपालगन्ज आइपुगेका ठकुरीलाई नेपालगन्ज विमानस्थलमा म्याराथन आयोजक समितिका सदस्यहरुले स्वागत सम्मान गरेका थिए।
नर्वेको ट्रम्सोमा गत जुन १८ देखि २० सम्म आयोजना भएको ‘एशोसिएसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिस्टेन्स रेसेस’ (AIMS) को २५औं वर्ल्ड कंग्रेसमा संसारभरका करिब ६ सय म्याराथन आयोजकहरूमध्येबाट नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ बाट पुरस्कृत गरिएको हो।
गृहजिल्ला फर्किएपछि खुसी व्यक्त गर्दै संस्थापक ठकुरीले आफू अब झन् ठूलो जिम्मेवारी बोकेर फर्किएको बताएका छन्। उनले भने:
“माता बागेश्वरीको पावनभूमि नेपालगन्ज आइपुगेको छु। यो अवार्ड प्राप्त गरेसँगै मेरो काँधमा थप ठूलो जिम्मेवारी थपिएको महसुस भएको छ। मलाई माया र सद्भाव प्रकट गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद दिँदै सबैसँग भेट्न म निकै आतुर छु।”
नेपालगन्ज म्याराथनले पाएको यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली खेलकुद क्षेत्रकै गरिमा बढाएको र यसले आगामी संस्करणहरूलाई अझै व्यवस्थित र सामाजिक उत्तरदायित्वपूर्ण बनाउन थप ऊर्जा प्रदान गरेको आयोजक समितिले जनाएको छ।






























