लखनऊ विश्वविद्यालयसँग सहकार्य सम्झौता
सजल गैरे
नेपाल र भारतबीच प्राविधिक तथा उच्च शिक्षाको सहकार्यलाई संस्थागत रूपमा विस्तार गर्ने उद्देश्यसहित नेपालगन्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय र भारतको लखनऊ विश्वविद्यालयबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
दुवै विश्वविद्यालयले यो सहकार्यलाई विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताका लागि अन्तर्राष्ट्रिय अवसर विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन् । यससँगै लुम्बिनी प्राविधिक विश्वविद्यालयले नेपाल र भारतका विभिन्न विश्वविद्यालयसँग गरेको शैक्षिक साझेदारीको दायरा थप फराकिलो बनेको छ ।
लखनऊ विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल र लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा. जे.पी. सैनीले शनिवार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि दुवै विश्वविद्यालयले प्राविधिक शिक्षा, संयुक्त अनुसन्धान, अनुसन्धानमूलक प्रकाशन, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, पाठ्यक्रम विकास, प्रयोगशाला साझेदारी र नवप्रवर्तन प्रवर्धनका क्षेत्रमा दीर्घकालीन सहकार्य अघि बढाउने सहमति गरेका छन् ।
सम्झौताअनुसार, कृत्रिम बुद्धिमत्ता, डेटा विज्ञान, सूचना प्रविधि, साइबर सुरक्षा, डिजिटल रूपान्तरण, इन्जिनियरिङ तथा कम्प्युटर विज्ञानजस्ता आधुनिक प्रविधिमूलक विषयमा संयुक्त शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, ‘स्टार्टअप इन्क्युबेसन’ कार्यक्रममार्फत नवीन सोचलाई प्रोत्साहन गर्ने, अनुसन्धानमा आधारित उद्यमशीलता विकास गर्ने तथा विद्यार्थीको व्यावहारिक सिप अभिवृद्धि गर्ने योजना पनि सम्झौतामा समेटिएको परीक्षा नियन्त्रक जेन्टिल गौतमले बताए ।
परीक्षा नियन्त्रक गौतमका अनुसार, यो सहकार्यबाट स्नातक तहदेखि विद्यावारिधि तहसम्म अध्ययनरत विद्यार्थी र अनुसन्धानकर्ताले प्रत्यक्ष लाभ पाउनेछन् । संयुक्त सुपरीवेक्षण, सिप विकास कार्यक्रम र अनुसन्धान सहकार्यले विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक दक्षता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
गौतमले लुम्बिनी प्राविधिक विश्वविद्यालयले यसअघि पनि भारत र नेपालका विभिन्न विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिए । उनका अनुसार, भारतको फ्यूचर युनिभर्सिटी, बरेली, राजश्री इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, बरेली तथा नेपालका सुदूरपश्चिम विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयसँग लुम्बिनीले यसअघि नै सहकार्य सम्झौता गरिसकेको छ ।
सम्झौतापछि उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले यो सहकार्य विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राध्यापकलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अवसर उपलब्ध गराउनेछ भन्ने विश्वास लिएका छौं ।’
लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा. जे.पी. सैनीले अन्तर्राष्ट्रिय शैक्षिक साझेदारीलाई आफ्नो विश्वविद्यालयले निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्दै नेपालसँगको सहकार्य दुवै देशका प्राज्ञिक समुदायका लागि लाभदायी हुने विश्वास व्यक्त गरे। उनले भने, ‘नेपालसँगको यो सहकार्यले दुवै देशका शैक्षिक तथा अनुसन्धान समुदायलाई नयाँ अवसर प्रदान गर्नेछ ।’
दुवै विश्वविद्यालयले दक्षिण एसियाली उच्च शिक्षामा सीमापार ज्ञान आदानप्रदानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेका छन् । भविष्यमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन, अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना तथा भ्रमणकारी प्राध्यापक कार्यक्रम सञ्चालनसम्म सहकार्य विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
हालैमात्र स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले छोटो अवधिमै शैक्षिक कार्यक्रम, विद्यार्थी संख्या र संस्थागत संरचनामा उल्लेख्य विस्तार गरेको छ । विश्वविद्यालयमा हाल करिब ४ सय विद्यार्थी अध्ययनरत छन् भने चालु शैक्षिक वर्षदेखि ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
विश्वविद्यालयका रजिस्टार रेगबहादुर भण्डारीका अनुसार, विश्वविद्यालय अझै संस्थागत विकासको प्रारम्भिक चरणमै छ । आगामी दिनमा वन, कृषि र पर्यटनजस्ता नेपालको आर्थिक रूपान्तरणसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा पनि शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना बनाइएको उनले बताए ।
विश्वविद्यालय विसं २०७९ असार १८ गते प्रदेश राजपत्रमा विधान प्रकाशित भएपछि औपचारिक रूपमा स्थापना भएको थियो । पहिलो वर्ष अधिकांश समय विधान, विनियम, नियम तथा निर्देशिका निर्माणमै खर्चिएको थियो ।
विश्वविद्यालयले विसं २०८० मंसिर १३ गतेबाट शैक्षिक गतिविधि सुरु गरेको थियो। सुरुवातमा बिटेक इन आइटी र बिटेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रममा ४० जना विद्यार्थी भर्ना भएका थिए । तीमध्ये ३३ जना विद्यार्थी नियमित रूपमा अध्ययनमा रहेको भण्डारी सम्झिन्छन् ।
भण्डारीले दैनिक नेपालगन्जसँगको संवादमा भने, ‘हामीले ४० जना विद्यार्थीबाट यात्रा सुरु गरेका थियौं। पछि ३३ जना विद्यार्थी रिटेन भए । अहिले त्यही विश्वविद्यालयमा करिब ४ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । यो हाम्रो लागि छोटो अवधिमा भएको महत्त्वपूर्ण उपलब्धि हो ।’
लखनऊ विश्वविद्यालयसँग भएको नयाँ सहकार्य, यसअघि भएका सातवटा शैक्षिक साझेदारी र विस्तारको चरणमा रहेको आफ्ना शैक्षिक कार्यक्रमलाई आधार मान्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा तथा अनुसन्धान केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य अघि सारेको जनाएको छ ।






























