बहुमुखी प्रतिभा स्व.प्रेम प्रकाश मल्ल ‘मधुकर’ का साहित्यिक सिर्जना समेटेर नयाँ कृति प्रकाशित हुने भएको छ । नेपाली साहित्य र संगीत जगतका एक बहुमुखी प्रतिभा (गीतकार, गायक, संगीतकार र साहित्यकार) मल्लका सबै सिर्जना एउटै कृतिमा समेटिने भएको हो ।
रुकुमको सेरी गाउँमा जन्मेर नेपालगन्जलाई कर्मथलो बनाएका स्व.मल्लका गीतहरू कालजयी छन् । उनका रचनाहरु समेटेर ‘प्रेम प्रकाश मल्ल ‘मधुकर’ रचनावली प्रकाशन गर्न लागिएको हो,’ प्रकाशन संस्था भेरी साहित्स समाजका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर बस्नेतले दैनिक नेपालगन्जसँग भने, ‘आगामी जन्मोत्सव समारोहमा कृति विमोचन गरिने गरि प्रकाशन कार्य भइरहेको छ ।’ स्व. मल्लकी छोरी वाणाीश्री मल्ल र ज्वाईं बखत मल्लको योगदानमा भेरी साहित्य समाजले उक्त पहल लिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
भेरी साहित्य समाजका पूर्व अध्यक्ष डा. हरिप्रसाद तिमिल्सिनाले प्रकाशित विभिन्न सात वटा कृतिको संग्रहसँगै प्रेम प्रकाश मल्लका अप्रकाशित फुटकर रचनाहरु प्नि समेटेर ‘रचनावली’ प्रकाशन गर्न लागिएको बताए । ‘झण्डै पाँचसय पेजको एउटै पुस्तकमा प्रेम प्रकाश मल्ल ‘मधुकर’लाई पढ्न सकिनेछ,’ कृति सम्पादनमा व्यस्त डा. तिमिल्सिनाले दैनिक नेपालगन्जसँग भने, ‘यसले उहाँसँगै उहाँका रचनालाई चीरस्थायी र स्मरणीय राखिरहन पक्कै योगदान गर्नेछ ।’
विसं १९९३ साउन ११ गते पश्चिम रुकुमको सेरी गाउँमा जन्मिएका मल्लले १४ वर्षको उमेरमै ‘आमा’ कविता लेखेर साहित्यिक यात्रा सुरु गरेका थिए । राष्ट्रप्रेमले ओतप्रोत ‘म मरे पनि मेरो देश बाँची रहोस्’ जस्ता गीतदेखि ‘वनकी म चरी कल्ले, सुन्नला कठै बरी मेरो मनको विलौना’ र ‘पोखरा त साँच्चिकै नै पोखरा नै रैछ’ जस्ता कालजयी गीतका उनी स्रष्टा हुन् । गीत, गजल, कविता, लघुकाव्य, हाइकु र संगीतका माध्यमबाट उनले नेपाली साहित्य र संगीतलाई विशिष्ट योगदान दिएका छन् ।
बाँकेलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा समर्पित मल्लका मधुकर छोटो जीवनी लामो कहानी, एउटा त्यो अजेय शिखर, पञ्च गान, अनुभूतिका स्वरहरू, सजल, गाउँदा गाउँदै, उनी र ओछ्यानबाट अनुभूतिहरू प्रकाशित कृति हुन्। जीवनको उत्तरार्धमा पक्षघातका कारण शारीरिक रूपमा अशक्त भए पनि सिर्जनाको यात्रा भने रोकिएन । उनका आधाभन्दा बढी रचना पीडाकै बीच जन्मिएका थिए। लामो समयसम्म छोरी वाणीश्रीले उनको मातृत्वपूर्ण स्याहार गरेकी थिइन् ।
गीतकार, गायक, संगीतकार र साहित्यकारका रूपमा परिचित मल्लले छिन्नलता गीति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, सारस्वत सम्मान, पूर्णिमा साहित्य रत्न तथा हाम्रो मझेरीलगायत दर्जनौं सम्मान प्राप्त गरेका थिए । विसं २०७२ वैशाख ११ गते उनको निधन भए पनि उनका सिर्जनाले नेपाली साहित्य र संगीतमा अझै उत्तिकै जीवन्त उपस्थिति कायम राखेका छन् ।
स्व. मल्लको स्मृतिलाई पुस्तौँसम्म जीवित राख्ने उद्देश्यले छोरी वाणीश्री मल्ल र ज्वाइँ बखतबहादुर मल्लले भेरी साहित्य समाजसँग सहकार्य गर्दै पुरस्कार स्थापना, रचनाको संरक्षण तथा रचनावली प्रकाशनजस्ता अभियानलाई निरन्तरता दिएका छन्। साहित्यिक वृत्तले यसलाई एउटा स्रष्टाको योगदानलाई भावी पुस्तासम्म सुरक्षित राख्ने महत्त्वपूर्ण प्रयासका रूपमा लिएको छ ।































