सहयोगमा लायन्सको प्रतिबद्धता
बाँकेको नेपालगन्जमा स्वास्थ्य सुलभताका लागि ‘हेल्थ इमरजेन्सी कल सेन्टर’को अवधारणा प्रस्ताव गरिएको छ । स्वास्थ्य सेवा र सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएका वरिष्ठ चिकित्सक डा. विनोद कर्णले भव्य कार्यक्रमबीच शुक्रवार ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ को अवधारणा औपचारिक प्रस्ताव गरेका हुन् ।
‘यसलाई स्थानीय सरकारहरुसँग समन्वय र सहकार्यका लागि छलफल अगाडी बढाउँदैछु,’ लायन्स क्लब अफ नेपालगन्ज युनिटीको आयोजनामा शुक्रवार ‘हेल्थ इमरजेन्सी कल सेन्टर’को अवधारणा सार्वजनिक गरेका डा. कर्णले दैनिक नेपालगन्जसँग भने, ‘सबै पालिका, वडाध्यक्ष र यहाँस्थित उद्योग वाणिज्य संघहरुसँग यो अवधारणा कार्यान्वयनका लागि प्रस्ताव लिएर जानेछु ।’
लायन्स क्लब अफ नेपालगन्ज युनिटीका अध्यक्ष अन्जु खड्काको अध्यक्षतामा भएको औपचारिक मञ्चबाट क्लब सचिवसमेत रहेका डा. कर्णले ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ अवधारणाबारे ‘ब्रिफ’ गर्दै स्थानीय सरकारले यसको महत्व आवश्यकता बोध गरेमा कार्यान्वयन चुनौती नरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका लायन्स क्लबका डिष्ट्रिक गभर्नर टिकाराम चपाई, पूर्व गभर्नरहरु सेमराज शाक्य, मधुसूदन शर्मा रिजाल, ज्ञानेन्द्र कुमार श्रेष्ठ, नेपालगन्ज युथका अध्यक्ष नविन खड्कालगायतले डा. कर्णको अवधारणालाई निकै उत्प्रेरणा दिए । ‘स्थानीय सरकारले यस प्रस्तावमा काम अगाडी बढाउछन् भने आवश्यक एम्बुलेन्सका लागि लायन्सबाट अनुदानको सुनिश्चितता शामी गर्छाैं,’ लायन्स लिडर रिजालले भने ।
लायन्स लिडर उमा थापाले डा. कर्णको ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ अवधारणा स्थानीय सरकारको प्राथमिकतामा रहनुपर्ने बताइन् । ‘तर, चुनौती कम छैन,’ नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उप–प्रमुखसमेत रहेकी थापाले भनिन्, ‘लायन्सले सहकार्य र साझेदारी गर्न सक्छ ।’





























