बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालन गरिरहेको ‘मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य परियोजना’ अन्तर्गत भएका गतिविधिको शुक्रबार स्थलगत अनुगमन गरिएको छ ।
सामाजिक विकास मञ्च (एसडिएफ) ले सेभ द चिल्ड्रेनको आर्थिक साझेदारीमा स्थानीय सरकारसँगको समन्वय, विद्यालयमा जडान गरिएका संरचना तथा बाढी पूर्वतयारीका कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न गाउँपालिकाको नेतृत्वमा अनुगमन गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा पुगेको टोलीले गाउँपालिका–२ स्थित गणेश आधारभूत विद्यालय र जनजागृति आधारभूत विद्यालयमा जडान गरिएको इन्सुलेशनको अवलोकन गरेको थियो । ती विद्यालयमा जडान गरिएको इन्सुलेशनले गर्मी मौसममा कक्षाकोठालाई शीतल र जाडोमा न्यानो राखी विद्यार्थीका लागि सहज सिकाइ वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको परियोजनाले जनाएको छ ।
अनुगमनका क्रममा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राखेर निर्माण गरिएका पूर्वनिर्मित सुरक्षित आवास गृहको सरसफाइ र व्यवस्थापनको अवस्थासमेत निरीक्षण गरिएको थियो । विपद्को समयमा समुदायलाई सुरक्षित आश्रय उपलब्ध गराउने तयारी प्रभावकारी बनाउने उद्देश्यले ती संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो ।
एसडिएफका फोकल पर्सन घनश्याम उपाध्यायले परियोजनाअन्तर्गत राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा अत्यधिक गर्मी तथा तातो हावाको लहरलाई लक्षित गर्दै ‘मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यविधि’ तयार गरिएको जानकारी दिए । उनका अनुसार, दुवै पालिकाका सबै वडामा रहेका वडा विपद् व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक र विपद् व्यवस्थापन फोकल शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । त्यसपछि विद्यालयमै विद्यार्थी र शिक्षकलाई लक्षित गरी थप अभिमुखीकरण गरिएको उनले बताए ।
उपाध्यायले भने, ‘स्वास्थ्य स्वयंसेवकलाई समेत अभिमुखीकरण गरिएको छ, ताकि अत्यधिक गर्मी र तातो हावाको लहरका बेला समुदायमा सुरक्षित रहने उपायबारे प्रभावकारी रूपमा सचेतना फैलाउन सकियोस् ।’
उनका अनुसार परियोजनाअन्तर्गत विद्यालयमा हाते पंखा वितरण गरिएको छ। अत्यधिक गर्मी, तातो हावाको लहर र बाढीबाट बच्ने उपायसम्बन्धी सन्देश समुदायसम्म पु¥याउन पालिकाभित्रका विभिन्न स्थानमा भित्ते लेखनसमेत गरिएको छ ।
संस्थाले जडान गरेका साइरनको निरीक्षण तथा मर्मतसमेत सम्पन्न गरिएको उपाध्यायले बताए । उनले भने, ‘बाढीको जोखिम देखिएलगत्तै साइरनमार्फत समुदायमा तत्काल सूचना प्रवाह गर्न सकियोस् भनेर सबै उपकरण चुस्तदुरुस्त बनाइएको हो ।’
एसडिएफका कन्सल्टेन्ट निर्मल सुवेदीले अनुगमनका क्रममा परियोजना कार्यान्वयनमा स्थानीय तहसँगको समन्वय, पारदर्शिता र जवाफदेहितालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताए । ‘समुदायको विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न स्थानीय सरकारसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको’ सुवेदीले जानकारी दिए ।
अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारू, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, राप्तीसोनारी–३ का वडाध्यक्ष मीन कुमार चौधरी, विपद् व्यवस्थापन शाखा प्रमुख मोहन बिसी, वरिष्ठ प्रशासकीय अधिकृत राजेश बोहरा तथा सूचना तथा प्रविधि अधिकृत जनार्दन पौडेल सहभागी थिए । एसडिएफका तर्फबाट फोकल पर्सन घनश्याम उपाध्याय, मिल अफिसर शान्त चौधरी र कन्सल्टेन्ट निर्मल सुवेदी सहभागी रहेको संस्थाले दिएको जानकारीमा उल्लेख छ । ‘हामी नियमित रुपमा स्थानीय सरकारसँग सहकार्य र समन्वयमा काम गरिरहेका हुन्छौं,’ अनुगमनका क्रममा कन्सल्टेन्ट सुवेदीले दैनिक नेपालगन्जसँग भने ।
































