न्यौपानेको नेतृत्व
बाँकेका होटल तथा पर्यटन क्षेत्रमा कार्यरत संस्थाहरु संगठित भएका छन् । विहीवार उनीहरुले पश्चिम नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका नेपालगन्ज पर्यटन परिषद’ गठन गरेका हुन् ।
होटल व्यवसायी संघ बाँके नेपालगन्ज, होटल एशोसियसन अफ नेपाल (हान) बाँके च्याप्टर, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टर र होम स्टे एशोसिएसनका पदाधिकारी सम्मिलित भेलाले परिषद् गठन गरेको हो ।
पश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन, पर्यटकीय स्थलहरूको पहिचान तथा बजारीकरणलाई व्यवस्थित बनाउन गठित परिषद्को नेतृत्वमा हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशवराज न्यौपाने चयन भएका छन् । न्यौपानेको अध्यक्षतामा गठित ९ सदस्यीय तदर्थ समितिमा नाट्टा अध्यक्ष डिल्लीराज रेग्मी उपाध्यक्ष, होटल संघका अध्यक्ष भिमलाल कंडेल महासचिव भएका छन् ।
परिषद् औपचारिक रूपमा दर्ता भएसँगै पश्चिम नेपालको पर्यटन क्षेत्रमा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाइने अध्यक्ष न्यौपानेले बताए । ‘यससँगै हामी संगठित रुपमा एकीकृत भएर पर्यटन प्रवद्र्धनमा काम गर्ने योजना बनाइएको छ,’ न्यौपानेले दैनिक नेपालगन्जसँग भने ।
होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, उपाध्यक्ष झविलाल शर्मा, महासचिव भागीराम ओली लगायतले बोलेका कोषाध्यक्ष एकराज पाण्डेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि हान बाँकेका अध्यक्ष दिवाकर खनालले परिषद्को भविष्यले पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउने अपेक्षा गरे ।
प्राथमिकतामा ‘फुड फेष्टिबल’
होटल व्यवसायी संघ बाँके र हानले संयुक्त रुपमा आयोजना गरेको ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड वेभरेज फेष्टिबल’ नेपालगन्ज पर्यटन परिषद्को प्राथमिकतामा परेको छ ।
विहीवार परिषद् सार्वजनिक गरिरहँदा आयोजक हानका अध्यक्ष दिवाकर खनालले पहिलो स्ट्रीट फुड फेष्टिबलले नेपालगन्जमा बेग्लै उत्साह दिएको भन्दै दोस्रो संस्करण बेलैमा आयोजना गरिने बताए । उनले पहिलो संस्करणको हिसाब किताब सार्वजनिक गर्दै आगामी आयोजनाप्रति आशावादी भएको बताए ।
तीन दिनसम्म आयोजना हुँदा ७० लाखबढी खर्च भएको ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड वेभरेज फेष्टिबल’ले त्यसैको हाराहारीमा आम्दानी गर्न सफल भएको छ । ‘१७ हजारबढी रकम खर्च अपुग भयो,’ अपेक्षाकृत आम्दानी भएको भन्दै हान अध्यक्ष खनालले भने, ‘नेपालगन्जले राम्रो उत्साह दिएको छ, अर्काे संस्करण अझै भव्य र सफल हुनेछ ।’
होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेलका अनुसार, ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड वेभरेज फेष्टिबल’मा दर्शकको टिकटबाटमात्रै झण्डै २० लाखको कारोबार भएको छ । ‘यसले नेपालगन्जमा यो आयोजनाको सार्थकता सिद्ध भएको छ,’ उनले भने, ‘अबको आयोजना अझै भव्य हुनेछ ।’






























