नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन २०८३ मा मतदाताले मतदान प्रक्रियाबाट अलग रहँदै ‘नो भोट’ गरेको सार्वजनिक गरेका छन् । निर्वाचनमा निकै कम मत खसेको अवस्थामा ति मतदाताले आफूले कुनै उम्मेदवारको पक्षमा मत नदिई ‘नो भोट’ रोजेको जानकारी सार्वजनिक गरेका हुन् ।
उनका अनुसार ‘नो भोट’ गर्नुको मुख्य उद्देश्य आगामी कार्यकारी टिमलाई संस्थाभित्र देखिएका भनिएका विसंगति, आर्थिक अनियमितताका आरोप तथा सदस्यता नवीकरणका क्रममा मत खरिद भएको भनिएको प्रवृत्तिबारे स्पष्ट सन्देश दिनु हो । संस्थाको नेतृत्वले यस्ता विषयमा आवश्यक कदम चालेर सदस्य तथा मतदाताको विश्वास पुनस्र्थापित गर्नुपर्ने उनको भनाइ छ ।
दैनिक नेपालगन्जसँग कुरा गर्दै ती मतदाताले आफ्नो निर्णयबारे भने, ‘नो भोट हाल्नुको उद्देश्य आगामी टिमलाई सन्देश दिनु थियो, ताकि उनीहरूले आरोपित विसंगति, आरोपित आर्थिक अनियमितता, र सदस्यता नवीकरणमा आरोपित मतखरिद प्रवृत्तिबारे मतदाताको विश्वास पुनस्र्थापित गर्न उपयुक्त कदम चाल्न सकून् ।’
मतदानस्थलमा भेटिएका उनले उनले आफ्नो निर्णयलाई निर्वाचनमा सहभागी कुनै व्यक्ति वा समूहप्रतिको व्यक्तिगत असन्तुष्टिका रूपमा मात्र बुझ्न नहुने बताए । बरु संस्थाको आगामी कार्यदिशा र नेतृत्वले सदस्यको विश्वास कसरी कायम गर्छ भन्ने विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले ‘नो भोट’ रोजेको उनको भनाइ छ ।
निर्वाचनसँग जोडिएका कतिपय विषय अहिले पनि अदालतमा विचाराधीन रहेको भन्दै उनले त्यसको निरुपण कानुनी प्रक्रियाबाटै हुनुपर्ने बताए । तर त्यससँगै वर्तमान कार्यकारी समितिले पनि नैतिक जिम्मेवारी वहन गर्नुपर्ने उनको धारणा छ ।
उनका अनुसार, संस्थासँग सम्बन्धित आरोप र प्रश्नमाथि निष्पक्ष छानबिन हुन सके त्यसले केवल विवादको निरुपणमा मात्रै सहयोग पु¥याउने छैन, नेपालगन्ज उद्योग वाणिज्य संघको संस्थागत विश्वसनीयता र आगामी कार्यशैलीप्रति सदस्यको भरोसा पनि बढाउनेछ ।
उनले सरकारी निकायको संलग्नतामा छानबिन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्नु उपयुक्त हुने बताए । छानबिनबाट वास्तविक अवस्था बाहिर आएमा संस्थामाथि उठेका प्रश्नको निरुपण हुने र आगामी दिनमा कार्यसमितिले थप विश्वासका साथ काम गर्ने वातावरण बन्ने उनको भनाइ छ ।
निर्वाचनमा ठूलो रकम खर्च भइसकेको भन्दै अब त्यसलाई रोक्न वा परिणाममाथि प्रश्न उठाउन नहुने तर्क पनि आउने गरेको उनले बताए । तर खर्च भएको रकमभन्दा संस्थाको दीर्घकालीन प्रतिष्ठा र निर्वाचित पदाधिकारीको नैतिक विश्वसनीयता महत्वपूर्ण रहेको उनको धारणा छ ।
‘निर्वाचनमा ठूलो रकम खर्च भइसकेको तर्क गर्नेहरू पनि छन् । तर मेरो विचारमा, संस्था र निर्वाचित पदाधिकारीहरूको विश्वसनीयता र नैतिकता यसभन्दा कैयौं गुणा बढी महत्वपूर्ण छ,’ उनले दैनिक नेपालगन्जसँग भने ।
उनले नेपालगन्ज उद्योग वाणिज्य संघ व्यवसायी र सदस्यकै हितका लागि स्थापना भएको संस्था भएकाले यसको नेतृत्वले सदस्यको मत र भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । निर्वाचनबाट नयाँ कार्यकारी टिम चयन भए पनि त्यसको पहिलो जिम्मेवारी संस्थाप्रति सदस्यको विश्वास कायम गर्नु रहेको उनको भनाइ छ ।
‘यो उद्योग वाणिज्य संघ नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्यहरूद्वारा, सदस्यहरूकै लागि, र सदस्यहरूकै हितमा गठन भएको हो । मतदाताको सम्मानलाई सबैभन्दा बढी मूल्य दिनुपर्छ,’ युवा व्यवसायी उनले जोड दिए ।
उनले ‘नो भोट’ लाई आफूले आगामी कार्यसमितिका लागि दबाब वा विरोधको रूपमा नभई सुधारको सन्देशका रूपमा लिएको बताए । सदस्यका प्रश्न र गुनासालाई सम्बोधन गर्दै संस्थागत पारदर्शिता कायम गर्न सके मात्रै नेपालगन्ज उद्योग वाणिज्य संघप्रतिको विश्वास थप बलियो बन्ने उनको भनाइ छ ।






























