नेपालसहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज बुधबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाउँदै छन् ।
मोहम्मद डेको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिएको छ । मंगलबार वरिष्ठ शिक्षा अधिकृत लोकन्द्रबहादुर शाहीले एक सूचना जारी गर्दै विद्यालयहरूमा बुधबारका दिन सार्वजनिक बिदा हुने जानकारी दिएका थिए ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
आज बाँकेमा रहेका मुस्लिमहरूले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत ¥यालीको आयोजना गर्दैछन् । यसपटक बाँकेमा मोहम्मद डेका अवसरमा डिजेको प्रयोग नगर्ने निर्णय भने यसअघि स्थानीय इस्लाम धर्मका अगुवाहरूले बताएका छन् ।






























