जीवन शर्मा
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले हामीलाई फेरि एकपटक प्रकृतिको शक्ति र विपद्को जोखिम सम्झाएको छ। बाढीले रसुवाका टिमुरे, त्रिशूली बजार, स्याफ्रुबेसीलगायत तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ भने यसको प्रभाव नुवाकोट, धादिङ, चितवन, गोर्खालगायतका जिल्लामा समेत परेको छ। घर, सडक, पुल, बजार, विद्युत् आयोजना, सुरक्षा निकायका संरचना र अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ ।
यो आलेख लेखिरहँदा, बिहीबार साँझसम्म नेपाल प्रहरीले उपलब्ध गराएको विवरणअनुसार विभिन्न जिल्लामा गरी २७० जनाको मृत्यु भएको छ भने ८२६ जना अझै सम्पर्कविहीन वा बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ । यता नेपाली सेनाले बिहीबार दिउँसोसम्म मात्रै हेलिकप्टरमार्फत ६०२ जना र स्थलमार्गबाट २०० जना गरी ८०२ जनाको उद्धार गरेको जनाएको छ, जसमा ५० जना विदेशी नागरिकसमेत रहेका छन् । उद्धारसँगै त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रबाट ३३८ जना घाइतेलाई उपचार सेवा दिइएको छ। खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने सम्भावना छ। तर यो विपद्को वास्तविक मानवीय र भौतिक क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।
यस घटनाको अर्को गम्भीर पक्ष ठूलो संख्यामा मानिस सम्पर्कविहीन हुनु हो। नेपाल पर्यटन बोर्डका अनुसार गोसाइँकुण्ड तथा कैलाश मानसरोवरतर्फ गएका पाँच सयभन्दा बढी पर्यटक तथा पदयात्रीसँग सम्पर्क हुन सकेको छैन। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध हुनु, बाटो तथा पुल बग्नु र उद्धारमा कठिनाइ हुनुका कारण धेरै मानिससँग तत्काल सम्पर्क हुन नसकेको हुन सक्छ। त्यसैले विपद्को समयमा सही सूचनाको महत्व हुन्छ।
भोटेकोशीको यो घटना केवल एउटा बाढीको घटना मात्र होइन, हाम्रो विपद् व्यवस्थापन प्रणालीका लागि पनि ठूलो परीक्षा हो। यस्तो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता मानिसको जीवन बचाउनु हो। त्यसका लागि सुरक्षा, सही सूचना, उद्धार, प्राथमिक उपचार र राहत एकैसाथ अघि बढ्नुपर्छ।
विपद् आएको केही घण्टामै सबैभन्दा ठूलो आवश्यकता हतारमा धेरै मानिस घटनास्थलमा पुग्नु होइन, व्यवस्थित उद्धार हो। तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उद्धार टोली र स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा काम गर्न दिने र उनीहरूलाई आवश्यक सूचना उपलब्ध गराउने काम नागरिकको ठूलो सहयोग हुन सक्छ। तालिम प्राप्त मानिस उद्धारमा नहुँदा अलमल र थप क्षति हुन सक्छ। त्यतातिर पनि ध्यान दिन जरुरी छ।
विपद्मा उद्धारको प्राथमिकता पनि स्पष्ट हुनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी र गम्भीर घाइतेलाई विशेष प्राथमिकता दिनुपर्छ। तर उद्धार गर्न जाने व्यक्तिले पनि आफ्नो सुरक्षा बिर्सनु हुँदैन।
बाढी घटेजस्तो देखिएपछि नदीको किनारमा जाने, बगेको पुल वा सडकबाट पार गर्न खोज्ने, पहिरो गएको ठाउँमा फोटो खिच्न जाने वा उद्धारको नाममा भीड जम्मा गर्ने कामले थप दुर्घटना निम्त्याउन सक्छ। हिमाली क्षेत्रमा एउटा बाढीपछि अर्को बाढी, पहिरो वा नदी थुनिएर अचानक पानी आउने जोखिमसमेत हुन सक्छ। त्यसैले सुरक्षा निकायको निर्देशन पालना गर्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ।
यस्तो समयमा मोबाइल फोन हाम्रो जीवन बचाउने महत्वपूर्ण साधन बन्न सक्छ। तर मोबाइलको सही प्रयोग गर्न जान्नुपर्छ। प्रभावित क्षेत्रमा रहेकाले अनावश्यक फोन र सामाजिक सञ्जालको प्रयोग कम गरेर ब्याट्री जोगाउनुपर्छ। मोबाइललाई पावर सेभिङ मोडमा राख्ने, आवश्यक पर्दा मात्र फोन गर्ने र सम्भव भए पावर बैंक सुरक्षित राख्ने गर्नुपर्छ। फोनको मुख्य उद्देश्य अहिले मनोरञ्जन वा लगातार भिडियो हेर्नु होइन, परिवारसँग सम्पर्क राख्नु, आफ्नो अवस्थाबारे जानकारी दिनु र आवश्यक उद्धार सूचना पठाउनु हो।
यससँगै सामाजिक सञ्जालको जिम्मेवारी झन् बढ्छ। विपद्का बेला सूचना केही मिनेटमै हजारौं मानिससम्म पुग्न सक्छ। यही कारण सामाजिक सञ्जाल उपयोगी पनि छ र खतरनाक पनि। कुनै ठाउँमा पुल बगेको, मानिस फसेको, अर्को बाढी आउँदै गरेको वा ठूलो संख्यामा मानिसको मृत्यु भएको भन्ने सूचना आयो भन्दैमा तुरुन्त सेयर गर्नु हुँदैन। सूचना कसले दिएको हो, कहिलेको हो र आधिकारिक रूपमा पुष्टि भएको छ कि छैन भन्ने हेर्नुपर्छ। अपुष्ट सूचना सेयर गर्दा उद्धार टोली गलत ठाउँमा जान सक्छ, परिवारमा अनावश्यक त्रास फैलिन सक्छ र प्रभावित क्षेत्रमा झन् भीड बढ्न सक्छ।
विशेषगरी मृतक, घाइते वा अत्यन्त पीडादायी दृश्यको प्रयोग गर्दा संवेदनशील हुनुपर्छ। घटनाको वास्तविकता देखाउनुपर्ने आवश्यकता हुन सक्छ, तर मानिसको मृत्यु वा पीडालाई सामाजिक सञ्जालमा सनसनी फैलाउने सामग्री बनाउनु उचित हुँदैन। मृतकको तस्बिर वा भिडियो परिवारको अनुमति बिना सार्वजनिक गर्नु उनीहरूमाथि थप पीडा थोपर्न सक्छ। विपद्को समाचार दिनु र विपद्को दृश्य देखाएर आतंक फैलाउनु फरक कुरा हो। पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारण सबैले यो फरक बुझ्न आवश्यक छ।
विपद्मा अर्को महत्वपूर्ण विषय हो—राहतको व्यवस्थापन। पीडितलाई तत्काल खाना, सुरक्षित खानेपानी, औषधि, अस्थायी बसोबास, कपडा र स्वास्थ्य सेवा आवश्यक पर्छ। तर राहत वितरण पनि समन्वयबिना भयो भने समस्या समाधानभन्दा समस्या थपिन सक्छ। एउटै ठाउँमा धेरै राहत पुग्ने र अर्को ठाउँमा केही पनि नपुग्ने अवस्था आउन सक्छ। त्यसैले स्थानीय सरकार, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस तथा अन्य सहयोगी संस्थाबीच समन्वय गरेर एकद्वार प्रणालीबाट राहत परिचालन गर्नु आवश्यक हुन्छ।
तर विपद्को व्यवस्थापन उद्धार र राहतमा मात्र समाप्त हुँदैन। तत्कालको संकट सकिएपछि सुरु हुने पुनःस्थापना र पुनर्निर्माण अझ लामो प्रक्रिया हो। बगेका सडक र पुल बनाउने मात्र होइन, विस्थापित परिवारलाई सुरक्षित स्थानमा बसोबास, बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारी र जीविकोपार्जनको व्यवस्था गर्नुपर्छ। यस घटनाले भविष्यमा यस्ता जोखिमबाट कसरी बच्ने भन्नेबारे पनि गम्भीर अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ। नदी किनारमा बस्ती, सडक, बजार र ठूला पूर्वाधार निर्माण गर्दा जोखिमको वैज्ञानिक मूल्याङ्कन कति गरियो भन्ने प्रश्न अब उठाउनैपर्छ।
भोटेकोशी बाढीले हामीलाई एउटा महत्वपूर्ण पाठ दिएको छ—विपद्का बेला सबै मानिस उद्धारकर्ता बन्न सक्दैनन्, तर सबै मानिस सहयोगी बन्न सक्छन्। कसैले सुरक्षित स्थानमा बसेर सही सूचना दिन सक्छ, कसैले परिवारका सदस्यको अवस्थाबारे आधिकारिक जानकारी संकलन गर्न सक्छ, कसैले रक्तदान गर्न सक्छ, कसैले राहत व्यवस्थापनमा सहयोग गर्न सक्छ। तर गलत सूचना नफैलाउने, अफवाहमा विश्वास नगर्ने र उद्धार टोलीलाई अवरोध नगर्ने काम भने सबैले गर्न सक्छन्।
अहिलेको आवश्यकता हडबड र हतपत होइन, संयम, सतर्कता र समन्वय हो। आधिकारिक निकायबाट आएको सूचना ग्रहण गर्ने, तथ्य पुष्टि गरेर मात्र अरूलाई जानकारी दिने र गम्भीर दृश्य तथा सामग्री सेयर गर्दा मानवीय संवेदनशीलता कायम गर्ने जिम्मेवारी हामी सबैको हो। विपद्को समयमा एउटा गलत सूचनाले परिवारमा त्रास फैलाउन सक्छ भने एउटा सही सूचनाले उद्धार टोलीलाई सही ठाउँमा पु¥याएर मानिसको जीवन बचाउन सक्छ । त्यसैले अहिले हाम्रो पहिलो जिम्मेवारी एउटै हुनुपर्छ—आत्तिने होइन, सजग हुने; हल्ला फैलाउने होइन, सही सूचना दिने; भीड बढाउने होइन, उद्धारमा सहयोग गर्ने । (हेटौडाबाट)





























