आज बैंकहरूमा निक्षेपको कमी छैन । तर, लगानीयोग्य कर्जाको माग भने बढ्न सकेको छैन । समस्या यतिमै सीमित छैन । बैंकले ऋण किन दिन सकेनन् भन्ने प्रश्नसँगै अर्को गम्भीर प्रश्न पनि उठेको छ, उद्यमीहरू ६–७ प्रतिशत ब्याजदरमा समेत ऋण लिन किन हिच्किचाइरहेका छन् ? यसतर्फ कसैले गम्भीर ढंगले सोचिरहेको होइन, छैनकी जस्तो लाग्न थालेको छ ।
मलाई लागेको चाहिं के हो भने, जुन देशमा उद्यमी, व्यापारी र उद्योगीलाई आर्थिक विकासका साझेदारका रूपमा भन्दा शंकाको दृष्टिले हेर्ने वातावरण बन्छ, त्यहाँ नयाँ उद्यम कसरी जन्मिन्छ ? व्यवसायमा जोखिम हुन्छ । असफलता हुन्छ । नाफा–घाटा हुन्छ । तर, व्यवसाय असफल हुनु भनेको हरेकपटक उद्यमीको नियत खराब हुनु होइन । व्यवसाय असफल भयो भन्दैमा उद्यमीको घरजग्गा बेचेर उठिबास लगाउनु पनि समाधान होइन ।
पछिल्लो समय बैंकहरूले कर्जा असुलीका नाममा अपनाएका कतिपय कठोर प्रक्रिया र व्यवहारले ऋणीहरू मानसिक र आर्थिक रूपमा ठूलो दबाबमा परेको हुन सक्छ । कानूनमा भएका व्यवस्था सही छन् कि गलत भन्ने छुट्टै बहसको विषय हो । ऋणीहरू सबै निर्दोष छन् भन्ने पनि होइन । बैंकहरू सबै दोषी छन् भन्ने पनि होइन । तर कर्जा दिँदा बैंक र ऋणी दुवैले व्यावसायिक जोखिम लिएका हुन्छन् । व्यवसाय असफल हुँदा त्यो जोखिमको सम्पूर्ण भार ऋणीमाथि मात्रै सार्नु कति उचित हो? यो प्रश्नमा गम्भीर बहस आवश्यक छ ।
बैंकले ऋण दिँदा व्यवसायको योजना हेर्छ । धितो हेर्छ । नगद प्रवाहको अवस्था बुझ्छ। बजारको सम्भावना र जोखिमको मूल्यांकन गर्छ । त्यसपछि मात्रै कर्जा स्वीकृत हुन्छ । तर व्यवसाय असफल भएपछि त्यसको सम्पूर्ण जिम्मेवारी व्यवसायीको मात्रै हुने अवस्था बन्ने हो भने कर्जा प्रवाहको मूल आधारमै प्रश्न उठ्छ ।
व्यवसाय सफल हुँदा त्यसको लाभ बैंक र ऋणी दुवैले पाउँछन् । व्यवसायबाट आर्थिक गतिविधि बढ्छ । रोजगारी सिर्जना हुन्छ । राजस्व बढ्छ । बैंकको असल कर्जा पनि बढ्छ । त्यसैले व्यवसायमा आएको असफलताको सम्पूर्ण जोखिम एकातर्फ मात्र सार्ने प्रवृत्तिले अन्ततः बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउन सक्छ ।
अहिले उद्यमीहरू बैंकमा पुगेर ‘सस्तो ब्याज छ, ऋण पाइन्छ’ भनेर उत्साहित हुनुको सट्टा ‘भोलि व्यवसायमा समस्या आयो भने के हुन्छ ?’ भनेर डराउन थालेका छन् भने त्यसको वास्तविक कारण पहिचान गर्न आवश्यक छ । ब्याजदर मात्रै घटाएर कर्जा माग बढ्ने अवस्था नआउन सक्छ । त्यसका पछाडि रहेको विश्वासको प्रश्न पनि हेर्नुपर्छ ।
‘केही समयपछि अर्थतन्त्र आफैँ ठीक हुन्छ’ वा ‘ब्याजदर घटेपछि कर्जा बढ्छ’ भनेर मात्रै पर्खेर बस्ने हो भने समस्या समाधान हुँदैन । बैंकहरूले पनि आफ्नो विगतको कर्जा प्रवाह, जोखिम मूल्यांकन, असुली प्रक्रिया र ग्राहकसँगको व्यवहारमाथि आत्मसमीक्षा गर्नुपर्छ ।
नियामकले पनि बैंकको वित्तीय स्वास्थ्यलाई मात्रै हेरेर पुग्दैन। उद्यमी बाँच्ने अवस्था कस्तो छ भन्ने पनि हेर्नुपर्छ । आर्थिक गतिविधिको स्वास्थ्य कस्तो छ भन्ने पनि मूल्यांकन गर्नुपर्छ । बैंक बलियो हुनु र व्यवसाय क्षेत्र कमजोर हुनुबीचको सम्बन्धलाई पनि गम्भीर रूपमा बुझ्नुपर्छ ।
अहिलेको आवश्यकता समस्यामा परेका उद्यमीलाई थप दबाउने होइन। जसोतसो बाँचेका उद्यमीलाई टिकाउने वातावरण बनाउनु हो । किनकि व्यवसायी बाँचे भने बैंकको असल कर्जा बढ्छ । रोजगारी सिर्जना हुन्छ। राजस्व बढ्छ । अर्थतन्त्र चलायमान हुन्छ ।
बैंकको पैसा बैंकमै थुप्रिनु अर्थतन्त्रको सफलता होइन। त्यो पैसा उत्पादन, व्यापार, उद्योग र रोजगारी सिर्जना गर्ने क्षेत्रमा जान नसक्नु अर्थतन्त्रमा रहेको विश्वासको संकटको संकेत पनि हुन सक्छ ।
त्यसैले अहिलेको मुख्य प्रश्न ‘बैंकसँग पैसा कति छ ?’ भन्ने मात्रै होइन । मुख्य प्रश्न हो, उद्यमीले बैंकबाट ऋण लिएर फेरि व्यवसाय गर्न किन डराइरहेको छ ? यो प्रश्नको इमानदार रूपमा कारण खोजिएन भने ब्याजदर घटाएर मात्रै नेपालको कर्जा माग र अर्थतन्त्रको समस्या समाधान हुँदैन ।
(लेखक उद्यमी हुन् ।)




























