सरकारलाई सघाउन आयोजकको अपिल
भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम अन्तिममा आएर स्थगित गरिएको छ ।
कार्यक्रम संयोजक सजल गैरेका अनुसार, दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक मिडिया हबले ‘द गोल्डन ग्राण्डमा’ अन्तर्गत आयोजना गर्न लागेको कार्यक्रमको पूर्व तयारी करिब पूरा भइसकेको थियो । तर, देशका विभिन्न क्षेत्रमा विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला कार्यक्रमलाई निरन्तरता दिनुभन्दा राहत तथा उद्धारका प्रयासमा साथ दिनुपर्ने निष्कर्षसहित तत्कालका लागि सबै कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।
आयोजकले भोटेकोशी बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै अहिलेको समय सबै मिलेर सरकारलाई सहयोग गर्ने बेला भएको जनाएको छ । उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यले गरिरहेका प्रयासमा नागरिक, निजी क्षेत्र तथा संघसंस्थाले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा आयोजकले जोड दिएको छ ।
‘यो बेला हामी सबै मिलेर सरकारलाई सघाऔं,’ आयोजकले आज सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशी बाढी र त्यसले उत्पन्न गरेको विपद्का कारण भदौ २१ गते आयोजना गरिने गरी पूर्व तयारी करिब पूरा भएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम हाललाई अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँछौं ।’
ज्येष्ठ नागरिक महिलाको सक्रियता, स्वास्थ्य, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘द गोल्डन ग्राण्डमा’ अभियान अघि बढाइएको हो । यसअन्तर्गत ‘दौडिन्छिन् हजुरआमा’ र ‘भन्छिन् हजुरआमा’ जस्ता कार्यक्रम हुँदै आएका छन् । अभियानले फरक पुस्ताबीच अनुभव र संवाद आदानप्रदानको वातावरण निर्माण गर्ने उद्देश्यसमेत राखेको छ ।
आयोजकका अनुसार, कार्यक्रमका लागि आवश्यक पूर्व तयारी र व्यवस्थापनका अधिकांश काम पूरा भइसकेका थिए । सहभागी, सहकार्य गर्ने संस्था, साझेदार, सहयोगी, स्वयंसेवक तथा शुभेच्छुकको सक्रियतामा तयारी अघि बढाइएको थियो । तर, विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।
आयोजकले कार्यक्रमको नयाँ मिति तत्काल तोकिएको छैन । परिस्थितिको समीक्षा तथा आगामी अवस्थाका आधारमा अर्को निर्णय गरिने जनाएको छ । ‘यसबारे फेरि हामी जानकारी दिनेनै छौं,’ कार्यक्रम संयोजक गैरेले भनिन् ।
हाललाई ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित भए पनि ‘द गोल्डेन ग्राण्डमा’ले अघि सारेको सामाजिक अभियानको मूल उद्देश्य भने निरन्तर रहने आयोजकको भनाइ छ । अहिलेको विपद्को समयमा प्रभावित नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै मानवीय दायित्व निर्वाह गर्न सबैलाई अपिल गरिएको छ ।
कार्यक्रम स्थगित गर्नुअघि आयोजकले सरोकारवालासहितको परामर्श बैठक आइतवार राखेको थियो । सोही बैठकको सुझावका आधारमा सोमवार बसेको आयोजक समितिको बैठकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको संयोजक गैरेले जानकारी दिइन् । सम्यक मिडिया हबको आयोजनामा ‘द गोल्डन ग्राण्डमा’ अन्तर्गत दौडिन्छिन् हजुर आमा, भन्छिन् हजुर आमा र हजुरआमाको स्वास्थ्य शिर्षकमा विभिन्न कार्यक्रम गरिंदै आएको छ ।




























