नेपाल इट्टा उद्योग महासंघ बाँकेका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अवालले इट्टा उद्योगहरू प्रविधिमा रूपान्तरण हुनुपर्ने बताएका छन् । नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेको २४औं बार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष अवालले बदलिदो समयसँगै प्रविधिको प्रयोग उद्योगमा बढाउँदै लग्नु पर्ने धारणा राखेका थिए ।
केन्द्रीय अध्यक्ष अवालले इट्टा उद्योगहरूले परम्परागत शैलीबाट परिवर्तन गरिरहेको उल्लेख गर्दै प्राप्त प्रविधिको प्रयोग आवश्यकता रहेको बताए । उनले इट्टा उद्योगलाई कच्चा पदार्थ अभाव हुने गरेको उल्लेख गर्दै सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको बताए । ‘उद्योगलाई चाहिने माटो, कोइला सहज आपूर्तिको समस्या हुने गरेको छ’, उनले भने ।
कार्यक्रमका वक्ता व्यवसायीहरूले कर प्रणाली, काँचो इट्टाको बीमा नहुनु, राज्यका नियमहरू पुरानो भएको र समय अनुसार परिमार्जन नभएको गुनासो गरेका थिए । व्यवसायीहरूले राज्यको ऐन कानुन अनुसार व्यवसाय सञ्चालन गर्दा उद्योग चल्नका लागि राज्यले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले बालश्रम प्रयोग नगर्न, पशु कल्याण सम्बन्धी तथा वातावरण सम्बन्धी व्यवस्था उद्योगीले पालना गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देब बहादुर ओलीले स्वदेश काठ सडेगलेर खेर गैरहेकाले त्यसको प्रयोग गर्दा वातावरण कम प्रदुषण हुने भए प्रयोगका अनुमति दिनुपर्ने बताए । ‘विभिन्न देशबाट कोइला खरिद गरी ल्याउँदा नेपाली पैसा बाहिरिएको छ’, उनले भने, ‘स्वदेशमै रहेको दाउरा प्रयोग गर्दा त्यसले पैसा बाहिरिन कम हुन्छ ।’
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख, प्रमुख उद्योग अधिकृत मोहन घर्तीमगरले इट्टा उद्योग सञ्चालन गर्दा पालना गर्नुपर्ने राज्यका नीति नियम पालना गर्न व्यवसायीलाई सुझाव दिंदै अन्य समस्यामा कार्यालयको तहबाट सहजीकरण गर्न तयार रहेको बताए ।
संघ महासचिव रामबाबु वैश्य तथा कार्यालय सचिव सुर्यमणि पौडेलले सञ्चालन गरेको कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, महासंघका संस्थापक महेन्द्र बहादुर चित्रकार, संघका विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधि, बाँकेका विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । बाँकेमा ५० बढी इट्टा उद्योगी रहेका छन् ।






























