बजारमा ‘दर्शन गार्डेन टुल्स’
कृषि यन्त्र, मल तथा बीउ बिजन उत्पादन र बिक्रीवितरण गर्दै आएको दर्शन ग्रुपले शनिबार आफ्नो चौथो वार्षिक उत्सव नेपालगन्जमा भव्य रूपमा मनाएको छ ।
वार्षिक उत्सवको अवसरमा ग्रुपले कृषि तथा बगान व्यवस्थापनका लागि नयाँ उत्पादन ’दर्शन गार्डेन टुल्स’ बजारमा सार्वजनिक पनि गरेको छ । वार्षिकोत्सवका प्रमुख अतिथि, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी ओलीले उक्त टुल्स सार्वजनिक गरे । उनले नयाँ पुस्ताका उद्यमीले कृषि क्षेत्रमा गरेको लगानीले उत्साह थपेको बताए ।
कार्यक्रममा दर्शन ग्रुपका प्रबन्ध निर्देशक कृष्ण दर्शनले कम्पनीको चौथो वार्षिकोत्सवको खुसी साट्दै नयाँ उत्पादन गार्डेन टुल्स बजारमा ल्याइएको जानकारी दिए । कार्यक्रममा त्यसको आइएसओ प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
कृषक तथा घरैमा बगैँचा वा कौसी खेती गर्ने ग्राहकहरूका लागि सहज, आधुनिक र गुणस्तरीय औजार उपलब्ध गराउने उद्देश्यले गार्डेन टुल्स बजारमा ल्याइएको प्रवन्ध निर्देशक दर्शनले बताए ।
स्थापनाको छोटो समयमै दर्शन ग्रुपले कृषि क्षेत्रका लागि आवश्यक गुणस्तरीय यन्त्र, मल र बीउ बिजन उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि कृषि क्षेत्रको आधुनिकीकरण र किसानका आवश्यकतालाई ध्यानमा राखेर सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
कम्पनिका मार्केटिङ म्यानेजर प्रज्वल बस्नेतले दर्शन ग्रुपको चार वर्षे यात्रा र अबका योजनाबारे प्रस्तुतिकरण दिएका थिए ।
कृषि क्षेत्रका विभिन्न प्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रममा दर्शन ग्रुपका संरक्षक नविन उपाध्याय, भूसाल ग्रुपका सिइयो जीआर भुसाल, साइनिस्टारका प्रमुख घनश्याम बराल, साकार सहकारीका तारासिंह ओली लगायतले बोलेका थिए ।































