रसुवा र भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ नेसनल प्याब्सन (एन–प्याब्सन) आबद्ध बाँकेका निजी विद्यालयहरूले राहत रकम संकलन गरिरहेका छन् । यसैक्रममा बैजनाथ गाउँपालिका–जिगाउँस्थित हिमालय विद्या निकेतन सेकेन्डरी स्कुलले रु. २ लाख २ हजार २ सय २ राहत रकम प्रदान गरेको छ । विद्यालयले प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने गरी उक्त रकम एन–प्याब्सन बाँकेलाई हस्तान्तरण गरेको हो ।
शुक्रबार आयोजित कार्यक्रममा विद्यालय सञ्चालक, एन–प्याब्सनका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सचिव श्याम कुँवरले एन–प्याब्सन बाँकेका अध्यक्ष चिरञ्जीवी (चिरन) चन्दलाई रकमको चेक हस्तान्तरण गरे ।
एन–प्याब्सन बाँकेका अध्यक्ष चन्दका अनुसार, जिल्लाका अन्य आबद्ध विद्यालयहरूले पनि आफ्नो क्षमताअनुसार राहत रकम सङ्कलन गरिरहेका छन् । सङ्कलित रकम एन–प्याब्सन बाँकेमार्फत एकमुष्ट रूपमा केन्द्रीय कोषमा पठाइनेछ ।
केन्द्रीय सचिव कुँवरका अनुसार केन्द्रीय कोषमा जम्मा भएको रकम प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरिनेछ । बाढीपहिरो प्रभावित नागरिकको सहयोगका लागि निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत अभियानलाई निरन्तरता दिएका छन् ।






























