लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा शुक्रवार गृह विमोचन गरिएको छ । २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन र त्यसपछि देखिएको मनोविज्ञानलाई केन्द्रमा राखेर तयार पारिएको कृतिले तत्कालीन राजनीतिक, सांस्कृतिक र आर्थिक अवस्थालाई साहित्यिक माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ ।
‘जेन्जी काल’ तीन महिनाअघि नै सार्वजनिक भइसकेको थियो। नेपालगन्जमा भने शुक्रबार कालपृष्ठको आयोजनामा कृतिको गृह विमोचन गरिएको हो । विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका अध्यक्ष नविन गिरी, साहित्यकार खगेन्द्र गिरी कोपिला र लेखक थापाले संयुक्त रूपमा कृति सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै चौलागाईले पत्रकारिता क्षेत्रबाट साहित्यमा आएका लेखक थापाले पश्चिम नेपाललाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउने काम गरेको बताए। उनका अनुसार ‘जेन्जी काल’ नेपाली इतिहासका लागि दस्तावेज बन्न सक्ने कृति हो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले साहित्य र पत्रकारिता समाजको विकासका महत्वपूर्ण क्षेत्र भएको बताए । साहित्य सिर्जनामार्फत थापाले पु¥याएको योगदान पत्रकारिता क्षेत्रका लागि पनि गर्वको विषय भएको उनको भनाइ थियो।
कृतिका लेखक निर्मल कुमार थापाले ‘जेन्जी काल’मार्फत जेन्जी आन्दोलनपछि मुलुकको राजनीतिक, सांस्कृतिक र आर्थिक व्यवस्थालाई बुझाउने प्रयास गरेको बताए। विगतका जनआन्दोलन र सशस्त्र आन्दोलनबाट लोकतन्त्र आए पनि निर्वाचित नेतृत्वले सही व्यवस्था स्थापित गर्न नसकेका कारण जेन्जी विद्रोहको रूप लिएको उनको भनाइ थियो ।
थापाले सुन्दर नेपाल निर्माणमा सचेत नेपालीले योगदान गर्नुपर्ने बताए। अबको पुस्ताले ‘जेन्जी काल’ पढेर भ्रष्टतन्त्रको जालो च्यात्दै सुशासन कायम गर्न आफूलाई तयार बनाउनुपर्ने उनले बताए ।
थापा नेपाली साहित्यमा लेखक, कवि तथा सांस्कृतिक अभियन्ताका रूपमा सक्रिय छन् । अध्ययनका क्रममा विद्यावारिधी गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समाज अध्ययनको अनुभव बटुलेका छन् । उनका लेखनमा कविता, कथा, निबन्ध, दर्शन तथा गैरआख्यानजस्ता विधा समेटिएका छन् ।
लेखक, साहित्यकार, कवि तथा सांस्कृतिक अभियन्ता थापा कलर र नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक हुन्। नेपाली कला, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएका थापाले साहित्यसँगै सांस्कृतिक क्षेत्रमा पनि काम गर्दै आएका छन् ।
उनको साहित्यिक यात्रा सन् २००५ मा प्रकाशित कविता संग्रह ‘प्रभात फेरी सन्ध्या’बाट सुरु भएको हो। दर्शन, अध्यात्म, समकालीन समाज र मानव जीवनका प्रश्न उनका लेखनका प्रमुख विषयका रूपमा देखिन्छन्। हालसम्म उनका २२ वटा कृति प्रकाशित भइसकेका छन्।
उनका प्रकाशित कृतिमा ‘प्रभात फेरी सन्ध्या’ कविता संग्रह, ‘एकादेश’ निबन्ध साहित्यिक कृति, ‘एकालाप’ कथा, निबन्ध र कविताको संयोजन, ‘एकान्त’ कथा र दर्शनको मिश्रण तथा ‘जय श्रीकुबेरनाथ’ कविता संग्रहलगायत छन्।
विमोचन समारोहकै अवसरमा आयोजक कालपृष्ठ दैनिकले लेखक तथा साहित्यकार थापालाई सम्मानसमेत गरेको थियो । कालपृष्ठका प्रकाशक तथा सम्पादक कमल खत्रीले उनलाई सम्मानपत्र प्रदान गरे ।
नेपाली साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा थापाले पु¥याएको योगदान, सिर्जनशील लेखन तथा साहित्यिक गतिविधिमार्फत नेपाली समाजको विकासमा गरेको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।






























