राहत अभियानमा जुटे एन–प्याब्सनका विद्यालय
रसुवा र भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि बाँकेका निजी विद्यालयहरू राहत अभियानमा जुटेका छन् । विपदमा परेका नागरिकलाई साथ दिने उद्देश्यले नेसनल प्याब्सन (एन–प्याब्सन) आबद्ध विद्यालयहरूले राहत रकम संकलन गरी सहयोग गरिरहेका छन् ।
यसैक्रममा शनिबार कोहलपुर बागेश्वरी स्कुलले २ लाख ७३ हजार रुपैयाँ राहत सहयोग गरेको छ । विपद्बाट प्रभावित नागरिकको पीडामा मलम लगाउने उद्देश्यले विद्यालयहरूले आफ्नो तर्फबाट सहयोग जुटाएका हुन् ।
कोहलपुर बागेश्वरी ई.मि. स्कूलले प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने प्रयोजनका लागि उक्त रकम एन–प्याब्सन बाँकेलाई हस्तान्तरण गरेको हो । शनिबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक तथा प्रबन्ध निर्देशक विष्णुप्रसाद केसीले एन–प्याब्सन बाँकेका अध्यक्ष चिरञ्जीवी चन्दलाई राहत रकमको चेक हस्तान्तरण गरे । केसी एन–प्याब्सनका निवर्तमान कोहलपुर नगर कमिटी अध्यक्षसमेत हुन् ।
शुक्रवारमात्रै हिमालय विद्या निकेतन सेकेन्डरी स्कुलले २ लाख २ हजार २०२ रुपैयाँ प्रदान गरेको थियो ।
बाढीपहिरोले घरपरिवार र जनजीवन प्रभावित बनाएका नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयहरूले आफ्नो क्षमताअनुसार सहयोग जुटाइरहेका छन् । विपद्को घडीमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै निजी विद्यालयहरूले अभियानमा साथ दिएका हुन् ।
एन–प्याब्सन बाँकेका अध्यक्ष चन्दका अनुसार, जिल्लाका अन्य आबद्ध विद्यालयहरूले पनि राहत रकम संकलन गरिरहेका छन् । विद्यालयहरूबाट प्राप्त सहयोगलाई एकमुष्ट रूपमा केन्द्रीय कोषमा पठाइनेछ । विभिन्न जिल्लाबाट केन्द्रीय कोषमा जम्मा भएको रकम प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरिने उनले बताए ।





























